देउवाको दशैं सन्देश : राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ

सोमबार, १३ असोज २०८२
file pic

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा उत्पन्न हुने राजनीतिक जटिलताको समाधान संविधानमार्फत नै खोजिनुपर्ने बताएका छन् ।

बडा दशैं २०८२ का अवसरमा सोमबार एक शुभकामना सन्देश दिँदै उनले सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान र आकाङ्क्षाबाट बनेको संविधानले मुलुकलाई स्थिरता, शान्ति र प्रगतितर्फ डो¥याउने विश्वास व्यक्त गरे ।

देउवाले जेनजी पुस्ताले भाद्र २३ र २४ गते आह्वान गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।

उनले आन्दोलनका क्रममा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, दलका कार्यालयदेखि सर्वसाधारणको निजी सम्पत्तिसम्म भएको तोडफोड, आगजनी र लुटपाटलाई ‘इतिहासकै अकल्पनीय र दुःखद घटना’ भनेका छन् ।

दसैँलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको सन्देश दिने पर्वका रूपमा वर्णन गर्दै उनले यसले परिवार, समाज र राष्ट्रबिच एकताको भावना अझ सुदृढ बनाउन सकोस् भन्ने कामना गरे । साथै, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

सन्देशको अन्त्यमा देउवाले भनेका छन्, “नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ । यो विषम परिस्थितिमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार