धरान : धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८२ सालको विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति र राष्ट्रिय कविता महोत्सवका लागि उत्कृष्ट १० कविता छनोट गरेको छ । कवि विमल गुरुङको ५४औं जन्मजयन्ती तथा ३४औं राष्ट्रिय कविता महोत्सवको अवसरमा हिजो आइतबार पुस्तकालयमा प्राप्त भएका १०४ कृतिमध्येबाट उत्कृष्ट १० कृति छानिएको हो । छनोटमा परेका कृतिमध्ये एकलाई आगामी कात्तिक १९ गते ताम्रपत्रसहित रु.२ लाख नगदसहित सम्मान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।
कृति पुरस्कारको लागि छानिएका पुस्तकहरूमा ‘डायस्पोराः अवधारणा र अभ्यास’ (रक्ष राई), ‘रातो नदी’ (जुनु राना), ‘डोलीभर्ना’ (डा. चित्र माबो), ‘सिमसारा’ (बसन्त बस्नेत), ‘काचको पोखरी’ (टीका भाइ), ‘नातिपुस्ताको खेल’ (कृष्ण बराल), ‘मोहोर’ (सागर गैरे), ‘जब कविता निस्कन्छ जुलुसमा’ (सुरज राना), ‘कोइलाखाद’ (श्याम सिंघक) र ‘गण्डकी प्रदेशका गुरुङ जातिका सामाजिक सांस्कृतिक लोकनाच र लोकबाजाहरूको अध्ययन’ (तेज बहादुर गुरुङ) रहेका छन् ।
यस्तै, ३४औं राष्ट्रिय कविता महोत्सवका लागि देश तथा विदेशबाट प्राप्त ९० कवितामध्ये उत्कृष्ट १० कविता छनोट गरिएको छ । जसमा ‘छातिभित्र पृथ्वी’ (रिजन मायालु), ‘भूपरिवेष्ठित चेतना’ (राजु उवरकोटी–दोलखा), ‘संग्रहालयमा थन्किएको खापसियो’ (दीपा मग्राती–सुनसरी), ‘पसिनाको सौन्दर्य’ (किशन पौडेल–हेटौंडा), ‘अभिशप्त जिन्दगी’ (बाबुराम श्रेष्ठ–सिन्धुली), ‘रातो रङ्ग’ (आरती आचार्य–म्याग्दी), ‘सपनाहरूको आँखाबाट’ (याम मगर–रोल्पा), ‘फर्किन्छु अब देश’ (विनेश राई मिन्जाई–सुनसरी), ‘दिशाहीन समयको प्रेतात्मा’ (सून्य नयन–गोरखा) र ‘देशको ठेगाना’ (शुचरा–खोटाङ) रहेका छन् ।
पुस्तकालयका अध्यक्ष गुरुङका अनुसार कविता महोत्सवमा उत्कृष्ट तीन कवितालाई क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानका लागि प्रमाणपत्र, स्वर्ण, रजत र कास्य पदकसहित नगद रु.२१ हजार, रु.१९ हजार र रु.१८ हजार प्रदान गरिनेछ ।
वि.सं. २०४८ वैशाख २४ गते धादिङको जुकेपानीमा सवारी दुर्घटनामा निधन भएका कवि विमल गुरुङको स्मृतिमा धरान–१८ मा स्थापना गरिएको यो पुस्तकालयले विगत लामो समयदेखि साहित्यिक कार्यक्रम गर्दै आएको छ । पत्रकारिता र कविता लेखन दुवैमा सक्रिय गुरुङका ‘एक किलो जंगल’, ‘आत्मघोषणा’ र ‘शहरको प्रगाढ मौनता’ नामक तीन कृतिहरू प्रकाशित छन् । गुरुङको निधनपछि पिता पूर्व ब्रिटिस गोर्खा सैनिक पूर्णबहादुर गुरुङले बुद्धचोकमा स्मृति पुस्तकालय स्थापना गरेका थिए ।
प्रतिक्रिया