तुइनखोलामा फेरि पहिरो, दुईतर्फी आवागमन बन्द

सोमबार, १३ असोज २०८२

काठमाडौं । दशैंको उमंगले भरिएका यात्रुहरूको सपना तुइनखोलामा फेरि चकनाचुर भएको छ ।

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुल नजिकै मध्यान्ह १२ बजे ठूलो पहिरो खस्दा दुईतर्फी आवागमन पूर्ण रूपमा अवरुद्ध भएसँगै यात्रुहरूको सपना चकनाचुर भएको हो । निरन्तर ढुंगा र माटो झर्ने क्रम रोकिएपछि मात्रै सफा गर्ने काम सुरु हुने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सडक डिभिजनका साइट सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार, ‘पहिरो झर्ने क्रम जारी नै रहेको छ । रोकिएपछि तैनाथ भएको जेसीबी, हाइड्रोलिक क्रेन र अन्य उपकरणले सफा गर्ने उनले बताएका छन् । अघिल्लो साता पनि यही ठाउँमा ४५ घण्टा र ५३ घण्टासम्म पहिरो पन्छाउने काम चलेको थियो ।

मुग्लिन–नारायणगढ सडकखण्ड नेपालको पूर्व–पश्चिम यात्राको जीवनरेखा हो । तर यो ७० किलोमिटर लामो सडकखण्ड हाल पहिरोको सबैभन्दा बढी जोखिमपूर्ण क्षेत्र बनेको छ । सडक डिभिजन कार्यालय चितवनका अनुसार, यो सडकमा कुल २५ वटा स्थान पहिरोको उच्च जोखिममा छन्, जसमध्ये तुइनखोला सबैभन्दा सक्रियमध्येको एक हो । विगतका वर्षहरूमा पनि पाँच ठाउँमा एकैसाथ पहिरो खसेर सडक रोकेको थियो ।

विशेषज्ञहरूका अनुसार, निरन्तर पहिरोका लागि यो क्षेत्रको भौगोलिक संरचना नै दोषी रहेको छ । हिमालयको फेदीमा अवस्थित यो सडक चट्टान र माटोको नरम तहले बनेको छ, जसलाई वर्षाको पानीले सजिलै खसाउँछ । मनसुन सकिए पनि ‘सुक्खा पहिरो’ को समस्या बढेको छ । नेपाल जर्नल अफ जियोसाइन्सेजको एक अध्ययनले यो खण्डमा पुराना पहिरोहरू नयाँ क्रियाशील बन्दै गएको उल्लेख गरेको छ । यसबाहेक, अनियोजित स्थानीय सडक निर्माण र वन विनाशले पनि समस्या थपेको छ ।

विगत एक सातामा यही स्थानमा बारम्बार पहिरो जाँदा १०५ घण्टाको अवरोधले हजारौं सवारी रोकेका थिए । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी ओहलालो हुन्छन्, जसमध्ये धेरै दशैं सामान बोकेका हुन्छन् । पहिरोले ढुवानी रोक्दा तरकारी, फलफूल र अन्य वस्तुहरूको मूल्यवृद्धि भएको छ ।

सडक डिभिजनका अनुसार, सफा गर्ने काममा मात्रै लाखौं खर्च भइसकेको छ । यदि यस्तो अवस्था लम्बियो भने दशैं बिदामा मात्रै अर्बौंको क्षति हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार