काठमाडौं । दशैँको समयमा राजमार्गहरु अवरोध हुँदा आन्तरिक हवाई यात्रा गर्ने यात्रुहरूको संख्या ह्वात्तै बढेको छ । जसका कारण टिकट बुकिङमा उच्च माग देखिएको छ ।
नेपालका प्रमुख एयरलाइन कम्पनीहरूले इन्धनको मूल्य वृद्धि र चाडपर्वका कारण चाप बढेको कारण देखाउँदै टिकटको मूल्य दर बढाउने गरेका छन् । घरेलु एयरलाइन्सहरूले दशैँको समयमा यात्रुहरूको उच्च मागलाई मध्यनजर गर्दै हवाई टिकटको मूल्यमा ५० देखि ६८ प्रतिशतसम्म वृद्धि गरेका छन् ।
दशैँको अवसरमा काठमाडौँ–धनगढी उडानको टिकट मूल्य रु ७,५०० बाट बढेर रु १७,००० सम्म पुगेको छ । काठमाडौँबाट पोखरा उडानको टिकट १० देखि १५ हजारसम्म पुगेको छ ।
हवाई टिकटको न्यूनतमदेखि अधिकतमसम्मको मूल्य कानुनमा नै व्यवस्था गरिएको छ तर त्यसको पालना नहुँदा बर्सेनि यात्रुहरू मारमा परेका छन् । यसले विशेष गरी विद्यार्थी, कर्मचारी र कम आय भएका यात्रुहरूलाई मर्का पुगेको यात्रुहरू बताउँछन् ।
काठमाडौँबाट नेपालगन्जसम्मको यात्रा गर्दै गरेका उमेश पौडेलले सामान्य समयमा पाँच हजारमा यात्रा गर्ने गरेको भएपनि दशैँमा घर जाँदा यस पटक १३ हजार १ सयको टिकट किनेका छन् । देशका विभिन्न सडक मार्ग अवरुद्ध हुँदा बाध्यताले हवाई यात्रा गर्नु परेको उनी बताउँछन् ।
पौडेलले चर्को मूल्यमा टिकट लिन पनि समस्या भएको भन्दै जसोतसो गरी ट्राभल एजेन्सीको सहयोगबाट आफूले टिकट पाएको बताए ।
‘मैले टिकट एउटा ट्राभल एजेन्सीबाट फोनको भरमा पाएको हो । कसरी मिल्यो मलाई पनि थाहा छैन । मैँले जसोतसो गरेर पाए । यसको लागि समस्या नै भोग्नुपर्यो । तीन चार दिन लागेर टिकटको मूल्यमा पहिले र अहिलेमा लगभग सात हजारको दरले फरक पर्यो,’उनले भने ।
सरकारले दशैँ, तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन नेपालका प्रमुख एयरलाइन कम्पनीहरूलाई आग्रह समेत गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकतम मूल्यभन्दा कम मूल्यमा टिकट बिक्री गर्न भनिए पनि कार्यान्वयन नभएको यात्रुहरूको गुनासो छ ।
‘भर्खरै मेरो श्रीमती नेपालगन्जबाट आउनु भएको थियो । आउँदा चाहिँ हजार ५ सयमा आउनुभयो । जाँदा चाहिँ १३ हजार १ सयको टिकट किनेर जादैछु । सरकारले अनुरोध गरेको कार्यान्वयन भएको छैन । त्यो भएको भए यस्तो हुँदैनथ्यो,’पौडेले भने ।
उनले सर्वसाधारण जनताको सहजका लागि सरकारले बाटोको अवरुद्ध हटाइ यात्रालाई सहज बनाउनुपर्ने बताए । उनका अनुसार मूल्य बढ्दा पैसा तिर्न सक्ने वर्गले मात्र हवाई मार्ग प्रयोग गर्नु परेको र न्यून आय हुनेहरू दशैँको दिनसम्म बसपार्कमा कुरिरहेन अवस्था रहेको छ ।
‘सरकारले सबैभन्दा पहिले बाटोको पहिरो पन्छाए अलि सजिलो हुने थियो कि । त्यसले पनि प्लेन टिकटको दर अलि कम हुने थियो । सायद सडक खण्ड अवरुद्ध भएर यता मानिसहरूको चाप यतातिर भएर सबै जना हवाई मार्ग रोजे त्यसैले सबै टिकटको मूल्य बढ्यो । यहाँ जसले पैसा तिर्न सक्यो उसले पायो, नपाउने अझै पनि बसपार्कमा कुरिरहेका छन्,’उनले भने ।
यता, नेपाल नागरिक उड्डयन प्राधिकरण दशैँ, तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थालाई आग्रह गरेको भएपनि त्यो कार्यान्वयन भएको छैन् । सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा हवाई टिकट बिक्री गरी यात्रुलाई राहत दिन सबै पक्षलाई अनुरोध गरिएको भएपनि रोकिने छाँट छैन् ।
प्रतिक्रिया