भानुचोकको​​​​​​​ होटेलमा बाबु–छोरा मृत फेला

बुधबार, २२ असोज २०८२

वीरगन्ज : वीरगन्जको नयाँ बसपार्कस्थित भानुचोकमा रहेको होटल शाह पाराडाइजमा भारतको त्रिपुराबाट आएका बाबु–छोरा मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालका अनुसार, मङ्गलवार बेलुकी होटेलको कोठा नम्बर १११ भित्र ६७ वर्षीय सजल आचार्य र उनका २४ वर्षीय छोरा सागर आचार्य मृत फेला परेका हुन्। दुवै जनाले असोज १९ गतेदेखि उक्त कोठामा बास बसेका थिए।

मङ्गलवार बेलुकी ७ बजेसम्म पनि खाना खान नआएपछि होटेलका कामदार उनीहरूलाई बोलाउन कोठामा पुगेका थिए। भित्रबाट ढोका बन्द रहेकाले पटक–पटक ढकढकाउँदा पनि प्रतिक्रिया नआएपछि अर्को कोठाको भेन्टिलेटरबाट हेर्दा बुवा ओछ्यानमा र छोरा झुन्डिएको अवस्थामा देखिएको प्रहरी स्रोतले जनाएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली होटल पुगेको थियो। रात परिसकेकाले कोठाको ढोका तत्काल नफोडिएको र बुधबार बिहान ढोका फोडेर शव निकाली थप अनुसन्धान सुरु गरिने डीएसपी लम्सालले बताए।

प्रारम्भिक रूपमा घटनाको कारण खुल्न बाँकी रहेकाले प्रहरीले हिजोदेखि होटल वरपर सिसिटिभी फुटेज र अन्य प्रमाण सङ्कलन कार्य थालेको जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार