रौतहट : जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादव धरौटी बुझाएर रिहा भएका छन् । सर्लाही जिल्ला अदालत मलङ्गवामा उपस्थित भएका यादवलाई न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले एक लाख ६० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीका अनुसार यादवविरुद्ध तीन फरक मुद्दा—राजद्रोह, सार्वजनिक सेवा अवरोध र आपराधिक उपद्रव दायर गरिएको थियो । त्यसअनुसार, राजद्रोहमा १ लाख र बाँकी दुई मुद्दामा ३०–३० हजार धरौटी तिरेर उनी रिहा भएका हुन् ।
गत असार १९ गते राति सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्का र यादवबीच भएको टेलिफोन संवाद बाहिरिएपछि उनी विवादमा तानिएका थिए । फोनमा दुबैबीच गालीगलौज र आरोप–प्रत्यारोप भएको अडियो सार्वजनिक भएपछि भदौ २५ गते प्रहरीले यादवलाई पक्राउ गरेको थियो ।
पूर्व मधेश प्रदेशसभा सदस्यसमेत रहेका यादवलाई प्रहरीले मलङ्गवा प्रहरी कार्यालयको हिरासतमा राखेको थियो । तर, हिरासतमा रहँदै गर्दा आमाको निधन भएपछि असोज ३ गते काजकिरिया गर्नका लागि अस्थायी रूपमा रिहा गरिएको थियो ।
काजकिरिया सकेर बिहीबार अदालतमा उपस्थित भएका यादवले भने, “अदालतले न्याय दिएको छ । अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्ध बोलेको मात्र थिएँ — तर राज्यले उल्टै मलाई मुद्दा लगायो।”
उनले प्राविधिक कार्यालय मलङ्गवामा भएको आर्थिक अनियमिततामाथि प्रश्न उठाउँदा आफूमाथि ‘राजद्रोह’जस्ता मुद्दा दर्ता गर्नु अन्याय भएको बताए ।
यादवविरुद्ध दायर मुद्दा र उनको गिरफ्तारीले मधेश प्रदेशमा राजनीतिक हलचल मच्चाएको थियो । जसपाका कार्यकर्ताहरूले उनलाई राजनीतिक प्रतिशोधको सिकार बनाइएको आरोप लगाउँदै सडक प्रदर्शनसमेत गरेका थिए ।
प्रतिक्रिया