विपद्का बेला संघीय सरकारले समन्वय नगरेको कोशीका मुख्यमन्त्रीको गुनासो

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले संघीय सरकारप्रति असन्तोष व्यक्त गरेका हुन् ।

शुक्रबार, २४ असोज २०८२

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद्का बेला संघीय सरकारले कुनै पनि समन्वय र सहयोग नगरेको बताएका छन । बाढीपहिरो प्रभावितको राहत, उद्धार तथा पुनर्निर्माणमा संघीय सरकारले समन्वय नगरेको उनको गुनासो छ । 

शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले संघीय सरकारप्रति असन्तोष व्यक्त गरेका हुन् । संघीय सरकारले समन्वयन नगरे पनि प्रदेशले आफ्नो तहबाट राहत र पुनःस्थापनका लागि काम गरिरहेको ‘ब्रिफिङ’ उनले गरेका थिए ।

‘बाढीपहिरो प्रभावितका लागि संघले सहयोग घोषणा गरेपछि प्रदेशसँग औपचारिक रुपमा संवाद नभएको कुरा मुख्यमन्त्रीले बताउनु भयो,’ बैंठकमा सहभागी नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘प्रदेशले आफ्नो तहबाट काम गरिरहेको कुरा उहाँले सुनाउनु भयो ।’ प्रदेश संरचनामाथि प्रहार भइरहेका बेला प्रदेशले परिणाम देखिनेगरी काम गर्नुपर्ने सुझाव दिइएको उनले बताए । 

बैठकमा सहभागी नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विपदपछिको पुनर्निर्माणमा संघ सरकारसँग समन्वय नभएको बताए । 

सर्वदलीय बैठकमा प्रकृतिक विपद्पछिको पुनर्निर्माण, जेनजी आन्दोलनका क्रममा जलेका संरचना निर्माण र पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएको छ । 

कोशी प्रदेश सरकारले बाढी र पहिरोजस्ता विपद्का कारण विस्थापित भएकाहरूका लागि नयाँ घर निर्माण गरिदिने निर्णय गरिसकेको छ । क्षतिग्रस्त घर मर्मतका लागि पनि सहयोग गर्ने निर्णय गरेको थियो । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार