काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मारिएका शहीदहरूको परिवारले राज्यबाट न्याय नपाएको गुनासो गरेका छन् ।
शहीद परिवारका सदस्य कमल सुवेदीले शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकार, राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीको उदासीनताप्रति गम्भीर आपत्ति जनाए ।
उनले भने, ‘जो जेनजी होइनन्, उनीहरू राष्ट्रपतिसँगको छलफलमा सहभागी भएका छन् । तर हामी शहीद परिवारका कसैलाई छिराइएको छैन । हामीलाई अहिलेसम्म कुनै औपचारिक छलफलमा समेत राखिएको छैन ।’
सुवेदीले जेनजी आन्दोलनबाटै प्रधानमन्त्री बनेकी सुशीला कार्कीले समेत पीडित परिवारलाई बेवास्ता गरेको बताए । ‘सुशीला कार्कीले न त हामीलाई न्याय दिन सक्नुभयो, न हाम्रो माग पुरा गर्न सक्नुभयो । आजसम्म उहाँले एउटा छलफलका लागि पनि बोलाउनुभएको छैन्,’सुवेदीले भने ।
गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै सुवेदीले भने,‘गृहमन्त्रीले पनि शहीद परिवारलाई एउटै ठाउँमा राखेर छलफल गर्नुभएको छैन । हामी सडकमा बोलिरहेका छौं, तर सरकार कानमा तेल हालेर बसेको छ ।’
उनले जेनजी आन्दोलनका अपराधीलाई कारवाही गर्ने भन्दै गठित छानबिन आयोगको प्रभावकारिता माथि पनि प्रश्न उठाए । ‘न्याय खोज्दाखोज्दै हामी थाकिसक्यौं । छानबिन आयोग त बनाइयो, तर खै त ? आजसम्म कसैलाई कारबाही गरिएको छैन,’सुवेदीले आक्रोश पोख्दै भने ।
प्रतिक्रिया