काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
गत भदौ २३ र २४ गते देशभर भएका ‘जेनजी’ प्रदर्शन र आन्दोलनका क्रममा नष्ट भएका सार्वजनिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि कम्पनीले सहयोग गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले आज एक विशेष कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीले विगतमा पनि शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन र वातावरण संरक्षणजस्ता क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको बताउँदै, आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया