फिदिम : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(हर्क साम्पाङ)ले श्रम र श्रम संस्कृतिको व्यापकता बिना देशमा समृद्धि सम्भव नभएको बताएका छन् ।
मंगलबार पाँचथरको फिदिममा आयोजित खुला सभालाई सम्बोधन गर्दै साम्पाङले भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताले देशको विकास अवरुद्ध बनाएको आरोप लगाए ।
उनले भने,“पुराना दलको कार्यशैलीले देशलाई पछाडि पार्यो, त्यसैले म नेतृत्वको श्रम संस्कृतिको अभियानले ती सबै विकृति र विसङ्गति अन्त्य गर्ने लक्ष्य लिएको छ।”
भर्खरै निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र प्राप्त गरेका साम्पाङले फिदिमको सभाबाट पहिलो पटक औपचारिक रूपमा जनसभालाई सम्बोधन गरेका हुन् ।
साम्पाङले देशमा फुर्सदिला मानिसको संख्या धेरै भएकाले विभेद, अन्याय, अत्याचार र भ्रष्टाचार मौलाएको उल्लेख गर्दै “श्रम गर्ने, काम गर्ने र उत्पादनमा लाग्ने नै देश विकासको मेरुदण्ड” भएको बताए ।
उनले आफ्नो पार्टीलाई देशव्यापी अभियानका रूपमा विस्तार गर्दै हरेक नागरिकलाई श्रमदानमा सहभागी गराउने लक्ष्य रहेको बताए । पार्टी अध्यक्ष भएर पनि साम्पाङले सुटबुटको सट्टा ‘श्रम अभियान’ लेखिएको टि–सर्ट लगाएर सभालाई सम्बोधन गरेका थिए ।
फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा भएको सभामा साम्पाङलाई सुन्न र हेर्नका लागि गाउँ–गाउँबाट नागरिकहरूको ठूलो उपस्थिति रहेको थियो।
प्रतिक्रिया