बिर्तामोड : जेनजी आन्दोलनका माग सम्बोधन नगरेको भन्दै जेनजी युनाइटेड मुभमेन्ट नेपाल ले आइतबार झापाको बिर्तामोडमा विरोध र्याली आयोजना गरेको छ ।
बिर्तामोड–५ सिटी सेन्टर अगाडिबाट सुरु भएको र्यालीमा संगठनका अगुवा कार्यकर्ता सुरेश भारती, सोनिया बिक, निशा भारती, सागर तामाङ, पंकज गिरी, रिचन राई, अन्जना राई लगायत जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका सदस्यहरूको उल्लेखनीय सहभागिता थियो।
सडकमा सहभागीहरूले विभिन्न प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेर बिर्तामोड बजार परिक्रमा गरेका थिए। र्याली मुक्तिचोक हुँदै पुनः सिटी सेन्टर अगाडि फर्की सडक नाटकसहित कोणसभामा परिणत भएको थियो।
कोणसभा जेनजी नेतृ अन्जना राईको संयोजकत्वमा सम्पन्न भएको थियो भने केन्द्रीय वक्ताका रूपमा सदिक्षा राईले देशभरको जेनजी आन्दोलन पुनः एकजुट हुनुपर्नेमा जोड दिइन्।
उनले भनिन्, “यो आन्दोलन मोबाइलमार्फत सुरु भएको सामाजिक अभियान हो, जसले दुई दिनमै सरकार ढाल्न सफल भयो। तर अहिले मागहरू विभाजित हुँदै गएका छन्। साँचो परिवर्तनका लागि एकताको भावना पुनः जगाउन जरुरी छ।”
उनका अनुसार सहिदहरूको सपना साकार पार्नका लागि सबै नेपाली एकताको सूत्रमा बाँधिनुपर्छ। “संविधानले राष्ट्रिय एकताको आह्वान गरेको छ, चार जात छत्तीस वर्णको साझा फूलबारीको अवधारणा आत्मसात गर्नुपर्छ,” उनले भनिन्।
अर्की नेतृ अन्जना राईले जेनजी युनाइटेड मुभमेन्ट कुनै राजनीतिक पार्टी वा संस्थागत अभियान नभई स्वतःस्फूर्त नागरिक आन्दोलन भएको बताइन्।
“हामी कुनै भाषण वा चुनावका लागि होइन, सहिदको सपना साकार पार्न सडकमा आएका हौं,” उनले भनिन्।
त्यस्तै वक्ता राकेश राईले जेनजी आन्दोलन सामाजिक सञ्जालमा मात्र सीमित नभई देशमा फैलिएको भ्रष्टाचार, बेरोजगारी र बेथितिको विरोधस्वरूप सुरु भएको जनाए।
“हिजो सहिदको बलिदानले ल्याएको परिवर्तन आज विभाजनमा परिणत भएको छ, त्यसैले फेरि एकताको सूत्रमा बाँध्न यो अभियान आवश्यक भएको हो,” उनले भने।
उनका अनुसार आगामी निर्वाचनमा नयाँ पुस्ता र नयाँ सोचका प्रतिनिधि अगाडि आउनुपर्ने समय आएको छ।
प्रतिक्रिया