इटहरी : इटहरी–१७ स्थित श्री राम जानकी शान्ति वृद्धाश्रममा बस्दै आएका वृद्धा आमाहरूलाई मानव अधिकार तथा शान्ति समाज सुनसरीले खाद्यान्न सहयोग गरेको छ।
संस्थाको वार्षिकोत्सवको अवसरमा शुक्रबार वृद्धा आमाहरूको दैनिक गुजारा सहज बनाउन चामल, चिनी र दाल हस्तान्तरण गरिएको जिल्ला सभापति रोबनराज कार्कीले जानकारी दिए। खाद्यान्न सामग्री साहित्यकार टीका आत्रेयको प्रमुख आतिथ्यतामा प्रदान गरिएको थियो।
वृद्धाश्रम सञ्चालक समितिका सदस्य सन्तोष ओझाका अनुसार आश्रममा बस्ने आमाहरूका लागि दातासँगै सरकारी निकायहरूले पनि समय–समयमा सहयोग उपलब्ध गराउँदै आएका छन्। वृद्धा आमाहरूको स्याहार–सुगाहारका लागि दुई जना महिला कर्मचारी आश्रममै खटाइएका छन्। अहिले आश्रममा १५ जना आमाहरू बस्दै आएका छन्।
यस्तै, कार्यक्रमकै क्रममा इटहरीको टेङ्ग्रा खोलाको किनारमा गरीव तथा पिछडिएका समुदायका बालबालिकालाई वर्षौंदेखि बिहान–बेलुका निःशुल्क पढाउँदै आएका चन्द्र भण्डारीलाई नगद सात हजार एक रुपैयाँसहित सम्मान गरियो।
मानव अधिकार तथा शान्ति समाज सुनसरीका सभापति रोबनराज कार्कीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि आत्रेय, केन्द्रका प्रतिनिधि धना थापा, सम्मानित व्यक्तित्व भण्डारी, केन्द्रीय सदस्य सीतराम कोइराला, जिल्ला सहसचिव मातृका भट्टराईलगायतले आ–आफ्नो भनाइ राखेका थिए।
प्रतिक्रिया