मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने अराजक समूहका २१ जना पक्राउ

शुक्रबार, २८ कार्तिक २०८२

विराटनगर । जेनजी आन्दोलनको आवरणमा मोरङका विभिन्न प्रहरी कार्यालयमा गरिएको आगजनी र तोडफोड प्रकरणमा संलग्न अराजक समूहका २१ जना पक्राउ परेका छन्। भदौ २४ गते मोरङका उर्लाबारी, पथरी र विराटनगर क्षेत्रका प्रहरी कार्यालय तथा अन्य सार्वजनिक संरचनामाथि भीडले आगजनी, तोडफोड र विध्वंस मच्चाएको थियो। घटना भएको केही समयमै प्रहरीलाई  लखेटेर थुनुवा भगाइएको थियो भने कार्यालयमा रहेको कागजपत्रसमेत जलाइएको थियो।

प्रहरीका अनुसार विराटनगर र मोरङको जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकामध्ये उर्लाबारी नगरपालिका–६ का उदय साह, बब्लु सहनी, मिलन राई, राजकुमार सहनी तथा उर्लाबारी–७ का रविन सुन्दास छन्। पथरीबाट पथरीशनिश्चरे–१ का चन्द्र कार्की, दीपक चौधरी, मुकेश बराइली, विश्वास थापा, सिद्धार्थ राई र मिथुन मण्डल पक्राउ परेका छन्।

विराटनगर र जहदामा सञ्चालन भएको अभियानमार्फत विराटनगर–५ का विशाल माल्मिकी, गोपी साह, विराटनगर–६ का विष्णु साफी, चन्दन बर्मा, किसन सहनी, विराटनगर–१४ का राकेश यादव पक्राउ परेका छन्। त्यस्तै, जहदा–२ का प्रवेश मण्डल, जहदा–३ का सुशील यादव तथा जहदा–५ का सुरज सिंह र मुकेश कामत पनि नियन्त्रणमा परेका छन्।

भदौ २४ गते यस समूहले इलाका प्रहरी कार्यालय उर्लाबारी र पथरीमा आगजनी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोज्दा थुनुवा भाग्ने गरी अराजकता मच्चाइएको थियो। विराटनगरमा समेत जिल्ला ट्राफिक कार्यालय, विभिन्न प्रहरी बिट, ट्राफिक लाइट र सीसी क्यामेरा तोडफोड गरिएका थिए। प्रहरीको सीआरभीसहितका सवारी साधनसमेत जलाइएको थियो।

पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रव सम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएकाे मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। उनका अनुसार जेनजी आन्दोलनको नाममा योजनाबद्ध रूपमा सरकारी संरचना ध्वस्त गर्ने, प्रहरीलाई लक्ष्य बनाएर आक्रमण गर्ने र आतंक मच्चाउने उद्देश्यले भिड परिचालन गरिएको थियो।

एसपी कटवालले भने, “अराजकता मच्चाउने जो कोहीलाई पनि उन्मुक्ति दिइने छैन। प्रमाणका आधारमा पहिचान भइसकेकालाई पक्राउ गरिएको छ र बाँकीको खोजी तीव्र छ।”
उनका अनुसार घटनासँग सम्बन्धित सीसी क्यामेरा फुटेज, भिडियो र स्थलगत प्रमाण अध्ययन गरी अन्य संलग्न व्यक्तिको पहिचान जारी राखिएको छ।

आगजनी र तोडफोडका घटनामा संलग्न समूहलाई पक्रन प्रहरीका विशेष टोली परिचालन गरिएको छ। कटवालका अनुसार सरकारी तथा निजी सम्पत्ति ध्वस्त पार्ने, भिड उक्साउने र योजनाबद्ध तरिकाले अराजकता फैलाउनेहरू सबै प्रहरीको निगरानीमा छन्।

एसपी कटवालले आन्दोलनको नाममा भएको हिंसात्मक गतिविधिले प्रहरीको मनोबल कमजोर बनाउने प्रयास भए पनि प्रहरी संगठन अब मनोबल मजबुत पार्ने र अपराध नियन्त्रणमा कठोर रूपमा उभिने अवस्थामा पुगेको बताए। “प्रहरी नागरिकको सुरक्षामा पूर्ण रूपमा प्रतिबद्ध छ। अपराधमा संलग्न जो कोहीलाई कानुनबमोजिम कडा कारबाही गरिन्छ,” उनले भने।

प्रहरीले भदौ २४ को अराजक घटनासँग सम्बन्धित कुनै पनि प्रमाण, फोटो वा भिडियो भएको व्यक्तिले उपलब्ध गराउन आग्रह समेत गरेको छ। प्रहरीको सक्रियता बढेसँगै घटनामा संलग्न अन्य व्यक्तिहरू पनि चाँडै नियन्त्रणमा पर्लान् भन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार