सौन्दर्यकरण गर्दै साकेला गाउँपालिका

बुधबार, ३० पुस २०८२

खोटाङ। साकेला गाउँपालिकामा विकासका बहुआयामिक कार्यहरू तीव्रगतिमा अघि बढाइएको छ । गाउँपालिकाको मुख्य प्रवेशद्वार साप्सुखोला क्षेत्रमा निर्माण गरिएको स्काइवाक, अत्याधुनिक बसस्टप, आकर्षक स्वागत गेट तथा विभिन्न धार्मिक, सांस्कृतिक र कलात्मक झल्को दिने चित्रकलाहरूले साकेला प्रवेश गर्ने जोकोहीलाई छुट्टै अनुभूति दिलाउने गरेको छ । स्थानीय पहिचान झल्किने चित्रकलाहरूले साकेलाको इतिहास, संस्कृति र सभ्यतालाई जीवन्त प्रस्तुत गरेका छन् ।

यहाँको भूगोल र वातावरणसँग सुहाउँदो प्रकृतिमैत्री संरचना निर्माण गरिनुले पनि गाउँपालिकाको सौन्दर्यकरणमा उल्लेखनीय परिवर्तन आएको देख्न सकिन्छ । विकास केवल कागजमा सीमित नबनाई प्रत्यक्ष कार्यान्वयनमा उतार्ने शैलीले साकेला गाउँपालिकालाई अन्य स्थानीय तहभन्दा फरक र अनुकरणीय बनाएको छ ।

यी सबै विकासका गतिविधिहरूको अगुवाइ स्वयं गाउँपालिका प्रमुख रविप्रकाश राईले गरिरहनुभएको छ । गाउँपालिका प्रमुख राई नियमित रूपमा केही कर्मचारीको साथमा श्रमदानमा सहभागी हुँदै गाउँपालिकालाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउन निरन्तर सक्रिय रहनुभएको छ ।

नेतृत्व आफैँ मैदानमा उत्रिएपछि जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दामा समेत सकारात्मक ऊर्जा र सहभागिता बढेको देखिन्छ । साकेला गाउँपालिकाले लिएको ‘श्रम साकेला अभियान’ नीतिअनुसार जनश्रमदानलाई विकासको मुख्य आधार बनाइएको छ ।

यही अभियानका कारण गाउँपालिकाभित्रका बाटाघाटा सफा, व्यवस्थित र सुन्दर देखिन थालेका छन् । सरसफाइको क्षेत्रमा समेत साकेला गाउँपालिका जिल्लाकै अग्रपङ्तिमा उभिन सफल भएको छ । यसका साथै गाउँपालिकाभित्र रहेका विभिन्न सार्वजनिक सम्पदाहरूको संरक्षण, धार्मिक तथा पर्यटकीय महत्व बोकेका स्थानको नियमित सरसफाइ तथा सडक पूर्वाधार विकासमा अध्यक्ष राईको सक्रिय भूमिका निरन्तर देखिँदै आएको छ । विकासलाई केवल भौतिक संरचनामा सीमित नराखी सांस्कृतिक संरक्षण र सामुदायिक सहभागितासँग जोडिनु साकेला गाउँपालिकाको विशेषता बन्दै गएको छ ।

स्थानीयवासीका अनुसार नेतृत्वको स्पष्ट दृष्टिकोण, निरन्तर श्रमदान र योजनाबद्ध विकासका कारण साकेला गाउँपालिका अहिले सुन्दर, सफा र पर्यटकीय सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । गाउँपालिका राईको सक्रिय नेतृत्वले साकेलालाई समृद्ध, आकर्षक र नमूना गाउँपालिकाका रूपमा रूपान्तरण गर्ने अपेक्षा अझ बलियो बनेको स्थानीयले बताएका छन् ।

आफ्नो कार्यकालभित्र जनताका दैनिकीसँग जोडिने विकास÷निर्माणका गतिविधिसँगै पर्यटन प्रवर्द्धनको कामलाई पूर्णता दिने योजनामा रहेको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभएको छ । “हामी निर्वाचित भएर आएपछि जनजीविकाको कामसँगै गाउँपालिकाभित्रका सबै धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति गरिरहेका छौँ । हाम्रो पालिका आफैँमा पर्यटकीयस्थल हो”, उहाँले भन्नुभयो, “यहाँ रहेका पर्यटकीय गन्तव्यहरूको स्तरोन्नति गर्दै पर्यटन प्रवर्द्धनको काम गरिरहेका छौँ । यसले स्थानीयका लागि रोजगारी सृजना गर्नुका साथै गाउँपालिकाको आन्तरिक स्रोतमा समेत सघाउ पुग्नेछ ।”

जिल्लाको सबैभन्दा सानो (पाँचवटा मात्र वडा रहेको) यो गाउँपालिकाको वडा नं २ रतन्छामा साकेला पार्क (उद्यान) र वडा नं ३ खिदिमामा सहिद पार्क निर्माण गरिसकिएको छभने तावाताल निर्माणको काम अगाडि बढाइएको छ । गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पर्यटकीय क्षेत्रहरूको स्तरोन्नति तथा प्रवर्द्धनको कामलाई तीव्रता दिइएको उपप्रमुख बिर्सिकाले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले आफ्नै गाउँठाउँमा पाइने पात्ले, ढाल्ने र सालको काठबाट होर्डिङ बोर्ड बनाएको छभने टोलटोलसम्म पुग्ने बाटो र ठाउँको नाम अङ्कित दिशानिर्देशक चिह्न (डाइरेक्सन एरो) समेत देखाएको छ । गाउँपालिकाले सीमा क्षेत्रका आठवटा स्थानमा स्वागत र बिदाइ बोर्ड राखेको छभने पालिकाभित्रका हरेक टोल तथा बस्तीसम्म छिर्ने दोबाटोहरूमा ‘डाइरेक्सन बोर्ड’ राखेको छ ।

डाइरेक्सन बोर्डको सहायताले पहिलोपटक साकेला गाउँपालिका पुग्ने जोकोहीले सजिलैसँग एक्लै गाउँपालिकाको सबै वडा घुम्न सक्नेछन् । गाउँपालिकाद्वारा राखिएका होर्डिङ बोर्ड र चिह्नहरूलाई कलात्मक रूपमा प्रस्तुत गरेको देख्दा लाग्छ हामी संस्कार र सभ्यताले सुसज्जित पालिका प्रवेश गर्दैछौँ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार