इटहरीबाट ९८ किलो गाँजा सहित २ जना पक्राउ

शुक्रबार, २८ कार्तिक २०८२

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको हो ।

गाँजासँगै सफारीलाई नियन्त्रणमा लिएको प्रहरीले १ जना महिलासहित २ जनालाई पक्राउ गरेको छ । कल्पना राईको घरमा खानतलासी गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ३५ वर्षीया कल्पना राईको घरबाट प्र–१–०२–००३ ह ९०५५ नम्बरको सीटी सफारीमा लोड गर्दै गरिएको अवस्थामा बिहीबार दिउँसो ९८ किलो गाँजा फेला परेको थियो । त्यसलगत्तै प्रहरीले घरधनी कल्पना र भोजपुरको रामप्रसाद गाउँपालिका–७ घर भइ इटहरीस्थित कल्पनाको घरमा बस्दै आएका २० वर्षीय मनोज राईलाई पक्राउ गरेको छ ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको सफारी पनि इटहरी प्रहरीकै नियन्त्रणमा छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार