झापा : बाह्रदशी गाउँपालिका–६ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल कञ्चनगढधाम साधुकुटीमा लाग्ने वालाचतुर्दशी (शतबीज छर्ने) पर्वका अवसरमा बाह्रदशी गाउँपालिकाले स्थानीय बिदा दिएको छ ।
गाउँपालिकाले मङ्गलवार एक सूचना जारी गर्दै मङ्सिर ३ गते सबै कार्यालय तथा शैक्षिक संस्था बिदा रहने जानकारी दिएको हो । श्री गौरीशङ्कर शिवालय गायत्रीस्वरुपाश्रम संरक्षण समितिको पत्रका आधारमा गाउँ कार्यपालिकाको बैठकले बिदाको निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
बिदा गाउँपालिका मातहतका शाखा, वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा लागू हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगेन्द्र थपलियाले बताए ।
कञ्चनगढधाममा प्रत्येक वर्ष ठूलो सङ्ख्यामा भक्तजनको उपस्थितिमा शतबीज छर्ने धार्मिक अनुष्ठान, मेला तथा पूजापाठ हुँदै आएको छ । यस वर्ष पनि भक्तहरूको उल्लेख्य सहभागी रहने अनुमान गरिएको छ ।
गौरीशङ्कर शिवालय गायत्रीस्वरुपाश्रम (कञ्चनगढधाम) बाह्रदशी–६ मा धार्मिक, ऐतिहासिक र सामाजिक दृष्टिकोणले महत्वपूर्ण स्थान ओगटेको छ ।
प्रतिक्रिया