यी हुन् नेपाली काँग्रेस झापाका ‘प्रबल’ पाँच आकाङ्क्षी

शनिबार, २७ मंसिर २०८२

झापा : नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका आकांक्षीहरूको नामावली प्रदेश नेतृत्वमा पठाएसँगै पार्टीभित्र ‘सबैभन्दा शक्तिशाली र सम्भावना बोकेका’ पाँच जनाको नाम विशेष चर्चामा आएको छ । 

जिल्लाका छुट्टा÷छुट्टै पाँचै क्षेत्रबाट प्रत्यक्षतर्फ सबभन्दा बलियो दाबेदार मानिएका उम्मेदवारहरू स्थानीय राजनीति, संगठनात्मक प्रभाव र लोकप्रियताको आधारमा अग्रस्थानमा छन्। 

जिल्ला सभापति देउकुमार थेवेको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले क्षेत्रगत सिफारिस सर्वसम्मत रूपमा प्रदेशमा पठाएपछि यी पाँच नामले कांग्रेस झापाको राजनीतिक वृत्तमा चर्चा पाएको हो ।  

झापा क्षेत्र नम्वर १ का लागि विश्वप्रकाश शर्मा ‘निर्विवाद’ भएका छन् । झापा १ मा पार्टीभित्र र बाहिर दुबैमा उच्च स्वीकार्यता कायम राखेका शर्मा एक्ला प्रत्यक्ष दाबेदारका रूपमा सिफारिस भएका छन् ।

पार्टीका केन्द्रीय प्रवक्ता तथा लोकप्रिय युवा–नेता मानिने शर्माको केन्द्रीय संगठनमा बलियो पकड छ । निर्वाचनमा उनी कांग्रेसका सबैभन्दा सुनिश्चित उम्मेदवार मानिएको स्थानीय नेताको टिप्पणी छ ।

यता झापा क्षेत्र नम्वर २ मा  नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै सजेश शिवाकोटीको प्रवल सम्भावना रहेको कांग्रेस वृत्तमा चर्चा चुलिएको छ । तर, महिला अनिवार्य भएकाले सरिता प्रसाईको सम्भावना प्रवल रहेको पार्टीको केन्द्रीय स्रोतको दावी छ । 

नेपाली कांग्रेसले उम्मेद्वार सिफारिस गर्दा आदिवासी,जनजाति, युवा र महिलालाई उच्च प्राथमिकतामा राखेर सिफारिस गरेका कारण पनि प्रसाईको प्रवल सम्भावना रहेको छ । त्यसो त संस्थापन पक्षबाट छत्र गिरीको चर्चा चलेको छ । अघिल्लो निर्वाचनमा पनि गिरीको चर्चा चलेपनि गठबन्धनका कारण कांग्रेसले नेकपा माओवादी केन्द्रलाई समर्थन गर्नु पनृे भएपछि उनी ब्याक सरेका थिए । 

झापा २ मा प्रत्यक्षतर्फ तीनजनामध्ये शिवाकोटी कांग्रेसभित्रको उदाउदो पुस्ताको ‘शक्तिशाली’ दावेदारका रूपमा अघि आएपनि महिला अनिवार्य भएका कारण उनी ब्याक हुने सम्भावना पनि उत्तिकै छ । यता प्रसाईको उम्मेद्वार सिफारिसमासमेत पहिलो नम्वरमा नाम छ । 

झापा ३ मा  संगठनकै भरोसा मानिएका छन् नवीन विमली । उनी कांग्रेस झापाका सचिवसमेत रहेका छन् । झापा ३ मा नाम सिफारिस पाएका नेतामध्ये विमली र भगीरथ पोद्दारको चर्चा चुलिएपनि बलिया प्रतिस्पर्धीका रूपमा उनको चर्चा छ ।

संगठन विस्तारमा सक्रियता, स्थानीय तहमा सहमति निर्माण गर्ने क्षमता र क्षेत्रीय राजनीतिमा लामो उपस्थितिका कारण विमलीलाई काँग्रेसभित्र ‘सबैभन्दा सम्भावना बोकेका’ उम्मेदवार मानिएको स्थानीय नेताहरू बताउँछन् । अन्य दलसंगसमेत समन्वय गर्ने सक्ने क्षमताका कारण उनको चर्चा चुलिएको हो । उनको पनि उम्मेद्वार सिफारिसको क्रममा पहिलो नम्वरमा नाम छ । 

झापा ४ मा  नेतृत्वमै रहेका देउकुमार थेवेको चर्चा छ । जिल्ला सभापतिसमेत रहेका थेवे झापा ४ का सबैभन्दा बलिया प्रत्यक्ष दाबेदारका रूपमा अघि आएका छन् । जहाँ जातीय आधारमासमेत मत ल्याउनु पर्ने बाध्यता छ । जसको  विकल्प नरहेपछि थेवे नै एक मात्र दर्विला उम्मेद्वार रहेको कंग्रेस वृत्तमा चर्चा छ । 

पार्टी संगठन सञ्चालनको अनुभव, क्षेत्रगत सञ्जाल र जिल्लैभरि रहेको प्रभावका कारण थेवेको उम्मेदवारी सबभन्दा बलियो मानिएको छ।

प्रदेशमा पठाइएको नामावलीमा पनि उनी नै शीर्ष दाबेदारका रूपमा देखिएका छन्।

यता झापा ५ : आइन्द्र बिक्रम केरुङको सम्भावना बलियो छ । पार्टीको विभिन्न तहमा भएको छलफल तथा सिफारिस प्रक्रियामा उनको नाम शीर्षस्थानमा राखेर पठाइएकोले केरुङ क्षेत्र–५ मा ‘हेभिवेट’ प्रत्यासीका रूपमा उभिएको कांग्रेस भित्रै चर्चा छ ।

यो क्षेत्र पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक आधार क्षेत्र भएकाले यहाँको प्रतिस्पर्धालाई राष्ट्रिय स्तरमै उच्च महत्वका साथ हेरिन्छ। कांग्रेस वृत्तमा केरुङलाई ओलीसँग प्रत्यक्ष टक्कर दिन सक्ने क्षमतावान नेता मानिएको छ । 

दमक–१ का निवासि केरुङ विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् ।  स्ववियू ९स्वतन्त्र विद्यार्थी युनियन० दमकका अध्यक्ष हुँदै कांग्रेसको महासमिति सदस्यसम्म पुग्न सफल उनी हाल प्रदेश–स्तरमा सक्रिय युवा नेताका रूपमा चर्चित छन्। 

कांग्रेसको शीर्ष नेतृत्वसँग विशेषगरी महामन्त्री विश्वप्रकाश शर्मासँग निकटता हुँदा उनले केन्द्रिय शक्ति–सन्तुलनमा पनि प्रभाव जमाउँदै आएका छन्। यही कारण क्षेत्रीय सिफारिसमा मात्र होइन, प्रदेश र केन्द्रीय समीक्षामा पनि उनको नामलाई प्राथमिकतामा राखिएको कांग्रेस केन्द्रीय नेतृत्वको भनाई छ ।  

झापा–५ मा दलगत संरचना,सामाजिक समीकरण कांग्रेसी उम्मेदवारका पक्षमा देखा परिरहेको विश्लेषकहरूको मत छ । 

स्थानीय तह, वडास्तरका नेता तथा भातृ–संगठनहरूबाट समेत उनलाई साथ छ । एमालेको गढमा टक्कर दिन सक्ने युवा नेताका रुपमा उनी देखिएका कारण उनको चर्चा चुलिएको हो । केरुङलाई ओलीविरुद्ध सबल प्रतिस्पर्धीका रूपमा हेरिनु, कांग्रेसको क्षेत्रीय संगठनले गरेको लामो तयारी र जनस्तरमा देखिएको समर्थन, यी सबैले यस क्षेत्रको चुनावलाई राष्ट्रिय चर्चाको विषय बनेको छ । 

ओलीको प्रभाव, कांग्रेसको चुनौती, र केरुङ जस्ता युवा उम्मेदवारको उदय ।  यी तीन कारणले झापा–५ आगामी चुनावमा सबैभन्दा चासोको निर्वाचन क्षेत्र बनेको छ । त्यसो त अरु उम्मेद्वार पनि उत्तिकै वेट नभएका भने होइनन् । तर, उनी आदिवासी जनजाति र युवा नेता भएका कारण केरुङको सम्भावना प्रवल छ ।

प्रतिक्रिया

सुरेन्द्र भण्डारी
लेखकको बारेमा
सुरेन्द्र भण्डारी
जिल्ला संवाददाता

विगत २ दशक अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी झापामा रहेर प्रदेश खबरका लागि जिल्ला संवाददाताका रूपमा कार्यरत छन ।

सम्बन्धित समाचार