काठमाडौँ : बजार अनुगमन तथा निरीक्षणलाई तीव्र पारिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौँका विभिन्न १४ वटा उद्योग तथा फर्मको निरीक्षण गरेको छ । तीमध्ये दुई वटालाई कारबाहीको दायरामा ल्याइएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।
कागेश्वरी मनोहरा–९, महानटारमा रहेको दाहाल गाई फार्मलाई विभागले रु पाँच हजार जरिवाना गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ तथा दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ (१)(क) अनुसार कारबाही गरिएको विभागले जनाएको हो ।
यसैगरी, कागेश्वरी मनोहरा–९, गोठाटारमा रहेको डिएनएस काष्ठ तथा फर्निचर उद्योगलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
अन्य १२ उद्योग वा फर्मलाई भने तत्काल सुधार गर्नुपर्ने विषयमा राय–सुझावसहित निर्देशन दिइएको विभागले जनाएको छ ।
विभागले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन देशभर स्थानीय प्रशासनको सहयोगमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको छ ।
बजारमा स्वच्छता कायम गर्न, बिल–बिजक जारी गराउन तथा कालोबजारी अन्त्यका लागि विभाग सक्रिय रहेको स्पष्ट पारेको छ ।
विभागको पछिल्लो विवरणअनुसार मङ्सिर २६ गते ११ वटा उद्योग तथा फर्मको अनुगमन गरिएको थियो । मङ्सिर २५ गते २० वटा उद्योग वा फर्ममा अनुगमन गर्दा दावा सुज एन्ड फेसन सेन्टरलाई रु ५० हजार जरिवाना गरिएको थियो ।
त्यसैगरी, मङ्सिर २४ गते १३ वटा फर्ममा अनुगमन गरी चार वटालाई रु ५० हजार जरिवाना गरिएको थियो । मङ्सिर २३ गते १५ वटा फर्ममा अनुगमन गरिएको थियो भने मङ्सिर २२ गते १५ वटा फर्ममा अनुगमन गरी तीन वटालाई रु ५० हजार जरिवाना गरिएको थियो ।
प्रतिक्रिया