काठमाडौँ : नेपाल चिकित्सक संघले आफ्ना केन्द्रीय सदस्य तथा आजीवन सदस्य डा. किशोर खत्रीमाथि भएको दुर्व्यवहारको घोर भत्सर्ना गरेको छ।
संघले एक प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न र चिकित्सकहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको हो।
विज्ञप्तिका अनुसार, मिति २०८२ पुस ७ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष मान बहादुर रावतले डा. खत्रीमाथि गालीगलौज, दुर्व्यवहार र ज्यान मार्ने धम्की दिएका थिए।
इमानदार र जिम्मेवार चिकित्सकमाथि कार्यक्षेत्रमै भएको यस्तो अपमानजनक र आपराधिक कार्यप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यस्ता अमानवीय घटनाले चिकित्सकहरूको आत्मसम्मानमा चोट पुग्ने मात्र नभई समग्र स्वास्थ्य सेवा प्रवाहमा समेत गम्भीर असर पर्ने संघको ठहर छ।
महासचिव डा. सन्जिब तिवारीद्वारा जारी विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा कुनै सम्झौता नगर्न सम्बन्धित निकायलाई जोडदार आग्रह गरिएको छ।
प्रतिक्रिया