शिवरात्रिमा पशुपति क्षेत्रमा भव्य महायज्ञ हुँदै

शनिबार, १९ पुस २०८२

काठमाडौं : महारुद्र परिवारको आयोजनामा यस वर्ष पनि शिवरात्रिको पावन अवसरमा पशुपति क्षेत्रमा भव्य महायज्ञ आयोजना हुने भएको छ । विगत चार वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यस महायज्ञले हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरूलाई एकै स्थानमा जोड्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्य लिएको छ ।

महारुद्र परिवारका गुरु खगेन्द्र पोखरेलले महायज्ञ धर्म, संस्कृति र पहिचान जोगाउने साझा अभियान भएको बताउँदै सबै समुदायलाई एकताबद्ध भएर सहभागी हुन आह्वान गरे । उनले देशको वर्तमान अवस्था जटिल भए पनि धर्मरक्षा र सामाजिक एकताको काम रोक्न नहुने स्पष्ट पारेका छन् । 

महारुद्र परिवारका कार्यसमितिका अध्यक्ष डा.निकोलश भुसालले संस्थाले लिएको जम्मा पाँच पटक पशुपति क्षेत्रमा यज्ञ गर्ने संकल्पअन्तर्गत यस वर्षको महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिए । उनले यो महायज्ञ कुनै एक समुदायको मात्र नभई सम्पूर्ण समाजको साझा कार्यक्रम भएको उल्लेख गरेका छन् । 

संस्थाको आर्थिक अवस्था कमजोर रहेको उल्लेख गर्दै महारुद्र परिवारका कोषाध्यक्ष खेम खरेलले महायज्ञ सफल पार्न सबै श्रद्धालु, शुभेच्छुक र समाजसेवीहरूबाट साथ, सहयोग र आर्थिक सहयोगको आवश्यकता रहेको बताए । 

यसैगरी, अभियन्ता मोहन अभिलाषीले यस महायज्ञले समाजमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उद्देश्य पूरा गर्न सबैको साथ अनिवार्य रहेको धारणा राखेका छन् । 

महायज्ञअन्तर्गत गुरुकुलसहित महारुद्रधाम निर्माणको संकल्पलाई अगाडि बढाइनेछ। जेनजि आन्दोलनमा सहादत प्राप्त वीर सहिदहरूको आत्माको चिरशान्तिका लागि विशेष दीप प्रज्वलन कार्यक्रम राखिएको छ भने २१ लाख लक्ष्यवर्ती दीप प्रज्वलन गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा गुरु चैतन्य कृष्ण महाराजज्यूको मुखारविन्दबाट ज्ञान–विज्ञानसम्बन्धी प्रवचन, विद्वान् गुरुहरूबाट पितृहरूको कल्याणका लागि श्रीमद्भागवत पाठ, बौद्ध गुरुहरूबाट विभिन्न मनोलम पाठ तथा किराँत धर्मअनुसार अष्टम पूजा, मुन्धुम पाठ सञ्चालन गरिनेछ । साथै परम्परागत विधिअनुसार हवन, पूजा–पाठ तथा वैदिक अनुष्ठानहरू पनि सम्पन्न गरिनेछन् ।

आयोजकका अनुसार पशुपति क्षेत्रमा अन्य यज्ञ तथा धार्मिक कार्यक्रमहरू पनि आयोजना भइरहेकाले सबै कार्यक्रमप्रति सम्मान व्यक्त गर्दै आपसी सहकार्य, सद्भाव र समर्थन रहने स्पष्ट गरिएको छ । महारुद्र परिवार समाजका लागि खुला संस्था भएकाले धर्म, संस्कृति र एकताको यस पवित्र अभियानमा सबैलाई जोडिन, साथ दिन र सहयोग गर्न आग्रह गरिएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार