विराटनगर : मोरङको सुन्दरहरैँचामा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सुन्दरहरैँचा नगरपालिका–६, चन्द्रसूर्य टोल रिङरोडस्थित भित्री सडक खण्डमा साँझ गछियाबाट चन्द्रसूर्य टोलतर्फ जाँदै गरेको को ३४ प ६४५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीवन गिरी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक २५ वर्षीय सुभाष श्रेष्ठ (लालीगुराँस नगरपालिका–५, तेह्रथुम) गम्भीर घाइते भएका थिए । उनी उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका हुन्।
शव पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ भने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया