जेनजी आन्दोलनपछि बदलिएको मनस्थिति : नयाँ दललाई अवसर दिनुपर्नेमा जोड

आइतबार, २० पुस २०८२

काठमाडौं। पछिल्लो समय पूराना भनिएका राजनीतिक दलहरूप्रति विश्वास लाग्न छाडेको युवाहरूले प्रतिक्रिया दिएका छन्।

जेनजी आन्दोलनपछि अब नयाँ राजनीतिक दललाई अवसर दिनुपर्ने उनीहरुको धारणा छ। देशलाई नयाँ सोच, नयाँ अनुहार र वास्तविक विकासको खाँचो भएकाले पूराना दलबाट सम्भव नभएको उनीहरुको धारणा छ।

बसन्तपुरमा पसलमा काम गर्दै आएका नारायण हुँमागाईंले राजनीति भद्रगोल जस्तो बनेको बताउँदै पुराना दलको काम जनताले देखिसकेको उल्लेख गरे। उनले जेनजी आन्दोलनपछि नयाँ शक्तिलाई सत्तामा ल्याउनुपर्ने र एकपटक नयाँ दललाई पालो दिनुपर्ने बताए। चुनावको अन्योल र कमजोर शासन प्रणालीले जनताको भरोसा घटाएको उनको भनाइ छ।

त्यस्तै अर्का जेनजी सुजन तामाङले भने नेतादेखि जनता सबै लथालिंग अवस्था रहेको प्रतिक्रिया दिए। नेताहरुले माइकको अगाडि गर्ने व्यवहार र पछिबाट काम गर्नु धेरै फरक भएको बताए । त्यस्तै उनले देशको विकासको लागी हामी जेनजीले नै सपोर्ट गर्नुपर्ने बताए।

त्यस्तै जेनजी युवा मनोज चौधरीले पनि वर्षौँदेखि एउटै नेतृत्व दोहोरिँदा विकास हुन नसकेको बताए। नेताहरूको बोली र व्यवहार फरक हुने, कानुन कमजोर भएको र परिवर्तन नआएको उनीहरूको निष्कर्ष छ। आउँदो निर्वाचनमा सक्षम नयाँ पुस्तालाई अवसर दिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार