जनकपुर। नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले जेनजी आन्दोलनका नाममा नेताहरुको घर प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुले जलाएको आरोप लगाएका छन् ।
आइतबार जनकपुरधामस्थित आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गर्दै महासेठले स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले एमालेका नेताहरुको घर जलाएर पछि नख्खु कारागारमा तोडफोड गर्न पुगेको दाबी गरेका छन्।
उनले जेनजीको नाममा भएको तान्डवलाई देश भूमिगत समूहको हातमा पुगेको बुझ्नुपर्ने बताए । उनले शेरबहादुर देउवामाथि भएको आक्रमणको निन्दा गर्दै केही विदेशी शक्तिलाई ठिक जस्तो लागे पनि नेपाली जनतालाई नराम्रो लागेको बताए ।
उनले एमाले नेताका घरहरु आफ्नो नीजि भन्दा पनि जनताको लागि भएको बताए । उनले आफूले राजनीतिमा आउनु भन्दा पहिला बनाएको घर जेनजी आन्दोलनमा आगो लगाउनु दुःखद रहेको बताए ।
महासेठले हाल नेपालमा नयाँ शक्तिको नाममा अगाडि आएकाहरु चुनावमा जीते नेपालको हालत के हुने भन्ने चिन्ता व्यक्त गरे । जनताको बीचमा नगएका, कानुन बिपरीत काम गरेकाहरुले कागजी नयाँ शक्ति बनाएर चल्न नसक्ने उनले बताए ।
नेपालका राष्ट्रिय धरोहरका रुपमा रहेका संरचनाहरु जलाउन रातारात प्लानिङ गरिएको दाबी गरे । उनले ३ मिनेटमा आउनुपर्ने दमकल ३ दिन पछि ललितपुरबाट मगाएर सिंहदरबार निभाउन गएकोमा आक्रोस व्यक्त गरे ।
सिंहदरबारलगयातका सरकारी कार्यालयहरु छानी छानी नेताहरुको राखिएको फाईलहरु जलाइएको उनले आरोप लगाए । विभिन्न मुद्दाहरुको फाईल र दस्तावेजहरु नष्ट गर्न नियतवश आगजनी गरिएको उनले बताए ।
महासेठले मधेश प्रदेश सरकारको समर्थन एमालेले गरेको ठिक नरहेको बताए । उनले एमालेले समर्थन गरेकोले प्रतिपक्षमा बस्ने कोही नभएकोले सरकारलाई सचेत कसले गराउने भन्नेमा प्रश्न उठेको बताए ।
उनले मधेश प्रदेश संसदीय दलले केही सोच विचार गरेरै समर्थन दिएको भएपनि त्यसो गर्नु गलत रहेको धारणा राखे ।
प्रतिक्रिया