बालिका बलात्कार आरोपी सुनवर्षीका वडा सचिव रेग्मी थुनामा

आइतबार, २० पुस २०८२
सांकेतिक फोटो

विराटनगर :  बालिका बलात्कार आरोपमा पक्राउ परेका मोरङको सुनवर्षी नगरपालिकामा कार्यरत वडा सचिव ईश्वरराज रेग्मीलाई मोरङ जिल्ला अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । सुनवर्षी नगरपालिका वडा नम्बर २ का वडा सचिव रहेका ३१ वर्षीय रेग्मीलाई मोरङ जिल्ला अदालतका न्यायाधीश मणिराम ज्ञवालीको इजलासले पुस १७ गते रेग्मीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । 

अदालतको आदेश अनुसार  रेग्मी  कारागार चलान भएका छन् । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार आदेश कार्यान्वयन गर्दै रेग्मीलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ । प्रारम्भिक अनुसन्धान र प्रमाणले अभियोग गम्भीर देखिएको भन्दै अदालतले थुनामै राखेर मुद्दा अघि बढाउन उपयुक्त ठानेको समेत जनाइएको छ । 

खोटाङको ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर ७ स्थायी घर भएका रेग्मीलाई प्रहरीले मंसिर २१ गते पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको थियो । रेग्मी माथि कक्षा १० मा अध्ययनरत १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । प्रहरीका अनुसार मंसिर १४ गते राति रेग्मीले बालिकालाई आफ्नै कोठामा राखी बलात्कार गरेको भन्दै पीडित पक्षबाट जाहेरी परेको थियो ।

प्रहरीले जबरजस्ती करणी सम्बन्धी कसुरमा आवश्यक प्रमाण संकलन गरी अनुसन्धान पूरा गरेपछि मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सोही आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत मोरङमा रेग्मीविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतमा प्रतिवादी रेग्मीको बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीका कानुन व्यवसायीका तर्फबाट थुनछेक बहस भएको थियो ।

थुनछेक बहस सम्पन्न भएपछि अदालतले अभियुक्तलाई थुनामा पठाउने आदेश दिएको हो । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार