झापा : नेपाली लोकतान्त्रिक आन्दोलनमा संघर्षपूर्ण जीवन बिताएका आदिवासी नेता स्व. तुर्सा हेमरमको २९औँ स्मृति दिवस आइतबार झापामा आयोजित कार्यक्रममा मनाइएको छ।
कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले हेमरमले भोगेका जेलनेल, यातना, प्रवास तथा त्याग–बलिदानको स्मरण गर्दै लोकतन्त्रका लागि उनको योगदान अविस्मरणीय रहेको बताए। उनले राजनीतिक र सामाजिक संकटको समाधान खोज्दा हेमरमजस्ता संघर्षशील नेताको आदर्श कहिल्यै नबिर्सनुपर्ने धारणा व्यक्त गरे।
राष्ट्रिय सभा सदस्य तथा तुर्सा हेमरम स्मृति प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले हेमरमको योगदान सुरक्षित गर्दै समाजमा उनका कृतिलाई अमर बनाइराख्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको जानकारी दिए। भवन निर्माण कार्य सम्पन्न भएपछि यसको व्यवस्थापन समुदायमा हस्तान्तरण गरिने उनले बताए।
कार्यक्रममा नेपाली कांग्रेस झापाका नेता, प्रजातान्त्रिक सेनानी, आदिवासी नेता तथा स्व. हेमरमका परिवारजनको उपस्थिती रहेको थियो। स्व. हेमरमका नाति सुन्दर हेमरमले बाजेको योगदान स्मरण गर्दै परिवारको तर्फबाट सुझाव प्रस्तुत गरे भने सदस्य शिवकुमार कँडेलले स्व. हेमरमको जीवनी वाचन गरे।
प्रतिक्रिया