विराटनगर : स्रोत नखुलेको करिव ४ रुपैया सहित प्रहरीले विराटनगरबाट एक जनालाई नियन्त्रणमा लिएको छ । भारतको जोगवनीबाट विराटनगर प्रवेश गरेका विराटनगर महानगरपलिका वडा नम्बर १० का उमेश साहलाई स्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो ।
मोटरसाइकलमा सवार रहेका साहलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विराटनगर महानगरपालिका महानगरपालिका वडा नम्बर १३ दिव्य ज्योति आँखा अस्पताल अगाडिबाट पक्राउ गरेको जनाइएको छ । साह प्रदेश १–०२–०४२ प २८८४ नम्बरको मोटरसाइकल चढेर भारततर्फबाट नेपाल प्रवेश गरिरहेका थिए । दिउँसो करिब १ बजेर ४५ मिनेटको समयमा रोकेर चेकजाँच गर्दा साहले लगाएको हेल्मेटभित्र र शरीरका विभिन्न भागमा लुकाइछिपाइ राखिएको अवस्थामा ३ लाख ९९ हजार ९ सय ५० रुपैयाँ नगद फेला परेको मोरङ प्रहरी प्रवक्ता कोपिला चुँडालले बताइन् ।
प्रहरी नायव उपरीक्षक चुँडालका अनुसार साहबाट बरामद रकममध्ये १ हजार रुपैयाँ दरका ३०, ५ सय रुपैयाँ दरका ५ सय ३६, १ सय रुपैयाँ दरका १ हजार १९ र ५० रुपैयाँको १ थान नोट रहेका छन् । यति ठूलो रकम बोकेर हिँड्नुको स्पष्ट कारण र स्रोतबारे सोधपुछ गर्दा साहले कुनै पनि विश्वसनीय विवरण दिन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको समेत चुँडालले जानकारी दिइन ।
प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने क्रममा साहको गतिविधि शंकास्पद देखिएकाले रोकेर जाँच गरिएको थियो । साथबाट स्रोत नखुलेको रकम फेला परेपछि उक्त रकम र मोटरसाइकलसहित साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
साह कारोवारी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र बरामद नगद, मोटरसाइकल र पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भईरहेको समेत जनाइएको छ ।
प्रतिक्रिया