झापा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन झापाले आगामी पुस २४ गते ३५ औँ स्थापना दिवस सम्मान सहितका कार्यक्रम आयोजना गरि मनाउने भएकोछ ।
स्थापना दिवसका अवसरमा योगदान र विशिष्टताका आधारमा जिल्लाभरिका तीन जना संस्थापक प्रिन्सिपलसहित उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान सहितको कार्यक्रम आयोजना गरिने भएको हो । विर्तामोड नगर प्याब्सनको समन्वयमा आयोजना गरिन लागेको कार्यक्रम बिर्तामोडमा रहेको सिटी सेन्टरको प्राङ्गणमा गरिने भएको प्याब्सन झापाले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले प्याब्सन दिवसका अवसरमा जिल्ला स्तरीय सामूहिक सांस्कृतिक नृत्य, एकल शास्त्रीय नृत्य तथा विभिन्न वर्गका गायन प्रतियोगिता समावेश गरिने जानकारी दिए । उनका अनुसार कक्षा ११ र १२ का विद्यार्थीले प्रस्तुत गर्ने गायन तथा १२ वर्षमुनि र १२ वर्षमाथिका प्रतियोगीहरूको प्रस्तुति कार्यक्रमका प्रमुख आकर्षण रहने छन ।
त्यसैगरी अध्यक्ष कार्कीले योगदान तथा विशिष्टताका आधारमा संस्थापक प्रिन्सिपलतर्फ विराटज्योति अंग्रेजी माध्यमिक विद्यालय बिर्तामोडका गणेशप्रसाद ओली, देवकुल अंग्रेजी माध्यमिक विद्यालय बिर्तामोडका धरणीरस मैनाली र प्रभुकुमार श्रेष्ठ तथा रूपरत्न अंग्रेजी माध्यमिक विद्यालय अर्जुनधारालाई सम्मान जनाए । मरणोपरान्त संस्थापक सम्मानतर्फ टावर टेम्पल अंग्रेजी विद्यालय बिर्तामोडका संस्थापक प्रिन्सिपल स्वर्गीय नरेशमान धिमाललाई सम्मान गरिनेछ ।
अविच्छिन्न रूपमा कार्यरत शिक्षकका रूपमा हरिकुल नमुना माध्यमिक विद्यालय कनकाईका मुक्ति दाहाललाई पुरस्कृत गरिनेछ । यसैगरी उत्कृष्ट पालिका सम्मानतर्फ प्याब्सन अर्जुनधारालाई तथा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने एक जना सञ्चारकर्मीलाई पनि सम्मान गरिने जनाइयो ।
एसईई परीक्षा २०८१ मा ४ जि.पी.ए. प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रशंसा पत्रसहित सम्मान गरिनेछ । पत्रकार सम्मेलनमा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले प्याब्सन झापाले वार्षिक क्यालेन्डरअनुसार जिल्लाभर विविध कार्यक्रम गर्दै आएको र सोही तालिकाअनुसार ‘प्याब्सन डे’ मनाउन लागिएको बताए ।
प्याब्सन झापाका सचिव लक्ष्मी उप्रेतीले १४ वटा पालिकामा यसअघि सञ्चालन गरिएको पालिका स्तरीय कार्यक्रममा पाँच विधामा विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको र त्यसमा उत्कृष्ट भएका विद्यार्थीले जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिए ।
जिल्ला स्तरीय कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी लिएको बिर्तामोड नगर प्याब्सनका अध्यक्ष सुरेन्द्र खरेलले कार्यक्रमका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिए । कार्यक्रम सफल बनाउन विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय सञ्चालक तथा शुभेच्छुक सबैलाई सहयोगका लागि आग्रह गरिएको उनले बताए ।
कार्यक्रमको अलस्का अटोमोबाइल्स प्रा.लि. मुख्य प्रायोजक रहेको छ भने कंगारु एजुकेशन फाउण्डेशन, बीएण्डसी अस्पताल तथा पब्लिकेशनको तर्फबाट पनि सहयोग रहने खरेलले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न सात लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया