गौरीगञ्जमा मोबाइल पसल चोरी,  ७ लाख बराबरको सामानसहित युवा पक्राउ

मंगलबार, २२ पुस २०८२

झापा । गौरीगञ्ज गाउँपालिकास्थित एक मोबाइल पसलबाट करिब सात लाख रुपैयाँ बराबरको सामान चोरी गरेको आरोपमा एक युवा पक्राउ परेका छन्। चोरी भएको २४ घण्टा नबित्दै प्रहरीले चोरीमा संलग्न युवालाई चोरीका सामानसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका–३, गौरीगञ्ज चोक निवासी १९ वर्षीय सुवास (कोच) राजवंशी रहेका छन्। उनले गएराति गौरीगञ्ज–३ स्थित बजार क्षेत्रमा रहेको गौरादह नगरपालिका–८, जुरोपानी निवासी इन्द्रकुमार बरालले सञ्चालन गर्दै आएको ‘बराल स्टोर’ मोबाइल पसलमा चोरी गरेका थिए।

प्रहरीका अनुसार पसलको चेन गेटमा लगाइएको ताला तथा ढोकामा बाँधिएको फलामे सिक्री काटेर भित्र प्रवेश गरी मोबाइल तथा अन्य सामग्री चोरी गरिएको थियो। घटनाको जानकारी बिहान प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमाण्डमा प्रहरी टोली परिचालन गरी अनुसन्धान तथा खोजतलास सुरु गरिएको थियो।

राजवंशीलाई उनकै घरबाट चोरीका सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट एन्ड्रोइड मोबाइल ६ थान, ड्रोन १ थान, मोबाइल चार्जर ३ थान, हेडफोन १ थान, इयरफोन ३ थान तथा अनुहार छोप्न प्रयोग गरिएको मुकुट बरामद गरिएको छ।

चोरीका बेला अनुहारमा मुकुट लगाएर पसलमा प्रवेश गरेका राजवंशी सीसीटीभी फुटेजको आधारमा पहिचानमा आएको प्रहरीले जनाएको छ। पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार