काठमाडौं : नेपाली कांग्रेसले कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई व्यक्तिगत रूपमा नरहेको स्पष्ट पारेको छ । पार्टी विधानअनुसार उक्त अधिकार केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको कांग्रेसले जनाएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षका नेताहरूले विशेष महाधिवेशन आह्वान गरेको चर्चा सार्वजनिक भएपछि कांग्रेसले औपचारिक रूपमा आपत्ति जनाएको हो ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा पार्टीको केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयअनुसार कार्यतालिका बनाएर अधिवेशन तथा महाधिवेशन प्रक्रिया अघि बढिरहेको अवस्थामा विशेष महाधिवेशनको माग गर्नुको औचित्य समाप्त भइसकेको उल्लेख गरिएको छ । त्यसलाई बेवास्ता गर्दै विभिन्न सञ्चारमाध्यममार्फत विशेष महाधिवेशन आह्वान गरिएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
कांग्रेसले विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टी विधानविपरीत हुने स्पष्ट पार्दै त्यस्ता गतिविधिमा संलग्न नहुन सम्पूर्ण पार्टीपंक्तिलाई आह्वान गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, पार्टी विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहनेछ । त्यसैले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था, साथै विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी र सदस्यहरूलाई नेपाली कांग्रेसले अपिल गरेको छ ।
विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशनको घोषणा गरिसकेको छ ।
प्रतिक्रिया