कर्णाली : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा लाग्न युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अनुरोध गरेका छन्।
खेलकुदमन्त्री गुप्तासहितको प्रतिनिधि मण्डलसँग आज सुर्खेत वीरेन्द्रनगरमा आफ्नै कार्यकक्षमा भएको छलफलमा मुख्यमन्त्री कँडेलले प्रतियोगितको मिति मात्र तोकेर नहुने भन्दै सङ्घीय सरकारले आफ्नोतर्फबाट तयारी गर्न सुझाव सुझाव दिएका हुन् । मुख्यमन्त्रीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्न प्रदेश सरकार तयार रहेको र प्रतियोगितालाई सफल बनाउनसमेत पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
छलफलमा मुख्यमन्त्री कँडेलले सङ्घीय सरकारले पटकपटक मिति तोके पनि अहिलेसम्म प्रतियोगिताको पूर्वतयारी नगरेकोमा असन्तुष्टि जनाए । उनेले भने “तपाईहरू खेलकुद खेलाउने गरी आउनुस्, हाम्रोतर्फबाट पूर्ण सहयोग रहन्छ तर पटकपटक मिति तोकेर नागरिकलाई भुक्याउने काम नगर्नुस् । अहिलेसम्म खेलका लागि चाहिने सामान खरिद प्रक्रियासमेत गर्नुभएको रहनेछ । अब एक महिनामा कसरी खेल खेलाउने गरी तयारी गर्नुहुन्छ ।”
मुख्यमन्त्री कँडेलले खेलकुदका लागि चाहिने सामाग्रीसमेत खरिद नगरेको भन्दै फागुनमा कसरी खेल खेलाउनुहुन्छ भन्ने प्रश्नसमेत मन्त्री गुप्तालाई गरे । कँडेलले कर्णालीमा खेल उद्घाटन गरेर अन्तै खेलाउने काम गरेमा प्रदेश सरकारले स्वीकार नगर्ने समेत बताए ।
युवा तथा खेलकुदमन्त्री गुप्ताले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आवश्यक तयारी भइरहेको बताउँदै प्रदेश सरकारलाई सहयोगका लागि आग्रह गरे । गुप्ताले भने “हामी प्रतियोगिता सञ्चालनको तयारी गरिरहेका छौँ । खेल सम्पन्न गर्न प्रदेश सरकारको विशेष भूमिका चाहिन्छ ।” उक्त छलफलमा वन तथा वातावरण र भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाई र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता समेतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया