काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य राजनीतिक दलहरूले आफ्ना कमीकमजोरी सुधार गर्दै देशको समृद्धिका लागि एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले देश थप एकताबद्ध बनाउँदै राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्न नयाँ सङ्कल्पसहित पहल आवश्यक रहेको बताएका हुन् ।
उनले विगतमा भएका कमजोरीमाथि सबै दलले आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए । ‘सबै ठिकै चलिरहेको छ भन्ने सोचले मात्रै अहिलेको असाधारण परिस्थितिको सामना गर्न सकिँदैन,’ प्रचण्डले भने, ‘राष्ट्र गम्भीर सङ्कटबाट गुज्रिरहेको अवस्थामा थप एकताबद्ध भएर नयाँ सङ्कल्पका साथ अघि बढ्न जरुरी छ ।’
देशमा उत्पन्न परिस्थितिको सामना गर्न पहिलोपटक २० वटा कम्युनिष्ट र समाजवादी घटकलाई एकैसाथ एकताबद्ध गरिएको दाबी गर्दै उनले पार्टी एकताको प्रक्रिया झन् सशक्त बन्दै गएको बताए ।
प्रतिक्रिया