बिर्तामोड : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब पाँच अर्ब रुपैयाँ बराबरको बजेट भित्र्याएर विकासका काम अघि बढाइएको दाबी गरेका छन् ।
आइतबार बिर्तामोड नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले आगामी माघ ५ गते आफ्नो कार्यकाल सकिन लागेको जानकारी दिँदै यस अवधिमा सम्पन्न विकास गतिविधिबारे सार्वजनिक गरेका हुन् । उनले संसद् पुनःस्थापना पहिलो एजेण्डा भए पनि जिम्मेवारीमा रहँदा विकास र संसदीय मर्यादालाई सन्तुलनमा राखेर काम गरिएको बताए ।
२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–२ बाट निर्वाचित भई पुस ८ गते शपथ लिएको स्मरण गराउँदै उनले माघ ५ गतेदेखि सभामुखको जिम्मेवारी सम्हालेको जानकारी दिए । त्यसयता सडक, खानेपानी, नदी कटान नियन्त्रण, भौतिक पूर्वाधारलगायत क्षेत्रमा उल्लेख्य बजेट सुनिश्चित गरिएको उनको भनाइ छ ।
‘तीन वर्षको अवधिमा झापा–२ को समग्र विकासका लागि करिब पाँच अर्ब रुपैयाँ बराबरको बजेट व्यवस्थापन गरिएको छ,’ उनले भने, ‘यसले दीर्घकालीन विकासको आधार तयार गरेको छ ।’
कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले सभामुख घिमिरेको पहलले नगर क्षेत्रमा सडक, खानेपानीलगायत पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको बताइन् ।
प्रतिक्रिया