माघे संक्रान्तिले बढायो तरुलको कारोबार

बुधबार, ३० पुस २०८२

काठमाडौं। माघे संक्रान्तिको अवसरमा काठमाडौं उपत्यकामा तरुलसहित कन्दमूलको कारोबार तीव्र बनेको छ। विशेष गरी तरुल, पिँडालु र सखरखण्डको माग बढेपछि पुष मसान्त सम्म कन्दमुलको आगमन उल्लेख्य रूपमा वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार यो हप्तामात्रै करिब ८०० देखि ९०० टन तरुल बजारमा भित्रिएको छ। पुष महिनाभरको तथ्यांक हेर्दा हालसम्म करिब १ हजार ३ सय टन तरुल भित्रिसकेको छ। यस वर्ष कन्दमूलको कुल आगमन करिब ३ हजार ४ सय टन पुगेको छ, जसमा झन्डै ६० प्रतिशत हिस्सा तरुलको रहेको छ।

तरुलको मुख्य आपूर्ति आन्तरिक उत्पादन क्षेत्रबाट नै हुने गरेको श्रेष्ठले बताए। उनका अनुसार तराईका सर्लाही, सुनसरी र मोरङ जिल्लाबाट मात्रै करिब ६० प्रतिशत तरुल आपूर्ति हुने गरेको छ। यस्तै, धादिङ, काभ्रे, मकवानपुरलगायत उपत्यकाका छिमेकी जिल्ला तथा पूर्वको झापादेखि पश्चिमतर्फ पाल्पासम्मका जिल्लाबाट पनि तरुल आउने गरेको छ।

आन्तरिक उत्पादन पर्याप्त भए तापनि केही मात्रामा भारतीय कन्दमूल पनि भित्रिने गरेको छ। “करिब ९० प्रतिशत कन्दमूल आन्तरिक उत्पादनकै हुन्छ, बाँकी ८-१० प्रतिशत भारतबाट आउने गरेको देखिन्छ,” श्रेष्ठले भने । विशेष गरी सखरखण्ड भने भारतीय क्षेत्रबाट बढी आउने गरेको उनले जानकारी दिए।

समितीको तथ्याङ्कअनुसार यो पुष महिनामा हालसम्म करिब १ हजार ७३० टन तरुल, ५७० टन पिडालु र १ हजार १ सय टन सखरखण्ड बजारमा भित्रिएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष कन्दमूलको आगमन बढेको देखिन्छ। विशेषगरी सखरखण्डको आयात झन्डै दोब्बर भएको छ । गत वर्षको पुषमा २८६ टन सखरखण्ड भित्रिएकोमा यस वर्ष करिब ६ सय टन भित्रिसकेको छ।

मूल्यको सन्दर्भमा, सखरखण्डको मूल्य तुलनात्मक रूपमा स्थिर भए पनि माघे संक्रान्तिलाई लक्षित गर्दै तरुलको मूल्य दिनानुदिन बढ्दो देखिन्छ। संक्रान्तिको दिन बजारमा आएको तरुल प्रायः सकिने भएकाले त्यसअघिसम्म मूल्य उकालो लाग्ने गरेको श्रेष्ठले बताए।

हाल बजारमा सर्लाहीतिरबाट आउने आकाशे तरुल र पाताले तरुल बढी बिक्री हुने गरेका छन्। यी तरुल केही दिनअघि प्रतिकिलो ७०–८० रुपैयाँमा बिक्री हुँदै आएकोमा हाल १०० देखि १५० रुपैयाँसम्म पुगेको छ। सुनसरी र मोरङबाट आउने हात्तीपाइले तरुल प्रतिकिलो ८०–१०० रुपैयाँमा बिक्री भइरहेको छ। यस्तै, वनतरुल भने २०० रुपैयाँभन्दा माथि पुगेको छ भने सिमलतरुल, सेतो तरुल र मुडे तरुलजस्ता स्थानीय तरुल थोकमा ६०–७० रुपैयाँमा कारोबार भइरहेको छ।

श्रेष्ठका अनुसार पहिले कालीमाटी नै मुख्य थोक बजार रहे पनि अहिले उपत्यकाका विभिन्न स्थानमा ठूला थोक बजार खुलेपछि तरुललगायतका उपजहरू सोझै ती बजारमा पुग्ने प्रवृत्ति बढेको छ।

यसका कारण काठमाडौँ उपत्यकामा प्रवेश गर्ने वास्तविक परिमाण कालीमाटीमा देखिएको भन्दा अझ बढी हुन सक्ने अनुमान गरिएको छ। माघे संक्रान्तिसँगै तरुलको कारोबार लगभग समाप्त हुने र त्यसपछि बजारमा माग घट्ने भएकाले संक्रान्तिसम्म तरुलको मूल्य उच्च नै रहने श्रेष्ठले बताए।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार