इटहरीमा सौन्दर्यकर्मीको पीडा : ‘जेनजी पछि व्यवसाय धरासायी’

शुक्रबार, २८ कार्तिक २०८२

इटहरी : कोशी प्रदेशका सौन्दर्यकर्मीहरू पछिल्लो समय गम्भीर व्यवसायिक संकटमा परेको गुनासो सार्वजनिक गरेका छन्। शुक्रबार इटहरीमा जिफन्ट कोशीले आयोजना गरेको श्रमिकसँगको संवाद कार्यक्रममा सहभागी सौन्दर्यकर्मीहरूले आफूहरूको पेशा नै अस्तित्व खोसिने अवस्थासम्म पुगेको धारणा राखे।

कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरीले सुनसरीका विभिन्न स्थानका सौन्दर्यकर्मीहरूलाई एकैथलोमा ल्याएर समस्याबारे खुला छलफल गराएको थियो। नाबुनकी प्रतिनिधि सम्झना थापाले उपभोक्ताबाट लिइने शुल्कमा एकरूपता नहुँदा व्यवसायीहरूबीच अनावश्यक प्रतिस्पर्धा र खिचातानी बढेको बताइन्। उनले शुल्क व्यवस्थापन देशभर सम्भव नभए पनि कमसेकम जिल्ला वा नगरस्तरमै भए पनि एकरूपता कायम गर्न जिफन्टले पहल गर्नुपर्ने आवश्यकता औंल्याइन्।

सौन्दर्यकर्मी विनिता राईले व्यवसायिक मापदण्डको अभाव र अस्वस्थ प्रतिस्पर्धाले पार्लर व्यवसाय जोखिमिलो बन्दै गएको गुनासो सुनाइन्। कार्यक्रममा बोलेकी निशा पौडेलले जेनजी आन्दोलनपछि धेरै उपभोक्ता हराएको र त्यसले पार्लर व्यवसायमा ठूलो असर पारेको बताइन्। “हामीमध्ये धेरैजना संकटमा छौं। व्यवसाय बचाउनको उपायबारे जिफन्टले पनि सोच्नुपर्छ,” उनले भनिन्।

ग्रामीण क्षेत्रबाट आएकी रेनु मण्डलले शहरमा जस्तो सीप र चेतना नहुँदा गाउँका व्यवसायीहरू अझै कठिनाइमा परेको अनुभव सुनाइन्। उनले जिफन्टमार्फत सीप सीप विकास तालिमको व्यवस्था गर्न संघ–प्रदेशलाई आग्रह गरिन्।

saundarya

संवादमा जिफन्टका उपाध्यक्ष तथा अभियान संयोजक विदुर कार्की, भीमज्वाला राई, ममता प्रधान, कला डाँगी, भली सुब्बा, सायदा तबसुमलगायतको टोलीले सौन्दर्यकर्मीहरूले राखेका प्रश्नहरूको जवाफ दिएका थिए। इटहरी, धरान, इनरुवा, दुहबी, प्रकाशपुर, गोठगाउँलगायत स्थानबाट आएका सौन्दर्यकर्मीहरूले मूल्यसूची नहुँदा घाटा बढेको, उपभोक्ता कमी, व्यावसायिक अस्थिरता तथा जेनजी आन्दोलनपछि परेको सम्पत्ति–नोक्सानीलगायत समस्याहरू राखेका थिए।

संवादले सौन्दर्यकर्मीहरूको वास्तविक अवस्था सूचीकृत गर्ने, स्थानीयदेखि संघ सरकारसम्म दवाब दिने, व्यवसायिक क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, सबै व्युटिसियनलाई संगठनमा आवद्ध गराउने तथा सामाजिक सुरक्षा योजनामा समावेश गराउन पहल गर्ने निष्कर्ष निकालेको जिफन्टले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार