धरान: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रहरी भर्नाका लागि सुनसरीमा सशस्त्र प्रहरीतर्फ दुई दिन म्याद थप गरिएको छ ।
सुनसरीमा निर्वाचन सुरक्षाका लागि खटाइने प्रहरी जनशक्ति भर्ना प्रक्रियामा माग अनुसार आवेदन नपरेपछि सशस्त्र प्रहरी बलतर्फ फारम भर्ने अवधि आज र भोलि दुई दिन थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्काले बताए ।
गत पुस २५ गतेदेखि माघ १ गतेसम्म भर्ना समय तोकिएको अवधिभित्र सशस्त्र प्रहरीतर्फ ४२९ जनाको माग गरिएकोमा ४१७ जनाको मात्र आवेदन परेको छ । माग अनुसारको आवेदन नपरेपछि आवेदन अवधि दुई दिनका लागि थप गरिएको प्रवक्ता खड्काले जानकारी दिए ।
सुनसरीमा निर्वाचन सुरक्षामा खटाउन नेपाल प्रहरीतर्फ ३,१४९ र सशस्त्र प्रहरीतर्फ ४२९ जना गरी कुल ३,५७८ जना प्रहरी जनशक्ति माग गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नेपाल प्रहरीतर्फ भने ४,४१९ जनाको आवेदन परेको छ । नेपाल प्रहरीतर्फ पर्याप्त आवेदन परे पनि सशस्त्र प्रहरीतर्फ सङ्ख्या नपुगेपछि म्याद थप गर्नुपरेको हो ।
प्रतिक्रिया