सुर्खेत । बर्खे अधिवेशन सकिएको ६ महिनापछि प्रदेश सभाको हिउँदे अधिवेशन बस्ने भएको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले माघ १८ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८२ माघ १८ गते दिनको १ बजे कर्णाली प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।
संवैधानिक प्रावधानअनुसार एउटा अधिवेशनबाट अर्को अधिवेशनसम्मको अवधि ६ महिनाभन्दा बढी हुन हुँदैन ।
कर्णाली प्रदेशमा नियमावली २०७४ को परिच्छेद–२ को दफा ३ मा अधिवेशन आह्वान र अन्त्यको व्यवस्था गरिएको छ । जसको उपदफा २ मा सभाको एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशन प्रारम्भ बीचको अवधि ६ महिनाको हुनुपर्ने उल्लेख छ ।
गत साउन २१ गते बर्षाे अधिवेशन अन्त्य भएको थियो । वर्षे अधिवेशन समापन भएको माघ २१ गते ६ महिना पुग्दैछ । गत भदौ २४ मा आगजनी र तोडफोडबाट प्रदेश सभा भवनमा क्षति भएका कारण पनि प्रदेश सभा बैठक आह्वानमा ढिलाई भएको थियो ।
जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीबाट प्रदेशसभामा आगजनी भएको थियो । प्रदेशसभाका २३ ब्लकमध्ये सभाहल, सचिवालय, बैठक हल, तीन वटा संसदीय दलका कार्यालय, दुई वटा विषयगत समितिका भवन पूर्णरूपमा क्षतिग्रस्त भएका थिए ।
वर्षे अधिवेशन विशेष गरेर सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने हुँदा कानुन निर्माणका लागि हिउँदे अधिवेशन बढी सक्रिय रहने गर्दछ।
अघिल्लो अधिवेशनमा संसदमा पेस भएका केही विधेयक छलफलको क्रममा छन् । केही विषयगत समितिमा पठाइएका थिए ।
प्रतिक्रिया