काठमाडौं। नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा उत्रने भएको छ।
आज पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी रहेको छ। गत पुस ३० गते थापाको नेतृत्वमा निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य आज पहिलोपटक पार्टी कार्यालय प्रवेश गर्न लागेका छन्।
यसअघि नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावी अभियानमा लागेका छन्। विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेपछि उनलाई भावी प्रधानमन्त्री घोषणा गरेर कांग्रेस निर्वाचनमा होमिन लागेको हो।
थापाले उम्मेदवारी दिएको सर्लाही-४ मा चुनावी प्रचार अभियान सुरु भइसकेको छ। टिकट वितरणमा ढिलाइले वारेसमार्फत उम्मेदवारी मनोनयन गरेका थापा आज केन्द्रीय कार्यसमिति बैठकपछि मात्र आफ्नो निर्वाचन क्षेत्र जाँदै छन्।
प्रतिक्रिया