विराटनगर । मोरङको रंगेलीमा दैनिक किनमेल र उधारो भुक्तानीको बहानामा नक्कली नोट चलाउने प्रयास विफल भएको छ । रंगेली नगरपालिका–२ का ४५ वर्षीय सहमद हुसेनलाई प्रहरीले मंगलबार राति एक हजार दरका नक्कली नोटसहित पक्राउ गरेको छ ।
स्थानीय पसलहरूमा शंकास्पद नोट प्रयोग भएको सूचना पाएलगत्तै सक्रिय बनेको प्रहरीले छोटो समयमै उनलाई नियन्त्रणमा लिँदै थप प्रमाणसमेत बरामद गरेको छ । प्रहरीका अनुसार हुसेनले रंगेलीमा नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलबाट रेडबुल खरिद गर्दा र उज्वल ढकालले सञ्चालन गरेको किराना पसलमा उधारो रकम तिर्दा एक–एक हजार दरका नक्कली नोट दिएका थिए । नोटको बनावट र छाप शंकास्पद देखिएपछि दुवै पसलेले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
पक्राउपछि सोधपुछका क्रममा हुसेनले घरमा समेत नक्कली नोट रहेको संकेत गरेपछि प्रहरी टोलीले थप खोजतलासी अघि बढाएको थियो । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा राति करिब ८ बजेतिर उनको घरमा पुगेको टोलीले खानतलासी गर्दा थप प्रमाण फेला पारेको छ । प्रहरीका अनुसार हुसेनले चलाउने गरेको प्रदेश १–०१–००४ ह ०६३७ नम्बरको सीटी सफारीको चालक सिटको डिकीभित्र एक हजार दरका दुईवटा नक्कली नोट भेटिएका हुन् ।
यसैगरी, उनको साथबाट पनि अर्को नक्कली नोट बरामद गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिएका छन् । पसलमा प्रयोग गरिएका, शरीरबाट बरामद भएका र सवारी साधनमा लुकाइएका गरी जम्मा पाँचवटा नक्कली नोटसहित हुसेनलाई पक्राउ गरिएको उनले बताए ।
उनलाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । नक्कली नोटको कारोबारमा एक्लै व्यक्ति संलग्न नभएर संगठित गिरोह नै आबद्ध भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
तर, हालसम्म हुसेनले नक्कली नोट कहाँबाट ल्याएका हुन् र उनलाई कसले उपलब्ध गराएको हो भन्ने विषय यकिन भइसकेको छैन । विभिन्न कोणबाट अनुसन्धान अघि बढाउँदै नक्कली नोटको स्रोत पहिचान र यसमा संलग्न अन्य व्यक्तिहरूसम्म पुग्ने प्रयास भइरहेको एसपी कटवालले बताए । घटनाले कारोबार गर्ने क्रममा सतर्कतना अपनाउन आवश्यक रहेको सन्देश दिएको छ । एसपी कटवालले शंकास्पद नोट देखिएमा तुरुन्त प्रहरीमा जानकारी गराउन सबैलाई आह्वान गरेका छन् ।
प्रतिक्रिया