सप्तरी : विभिन्न संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने नाममा विगतको राज्यसत्ताबाट धेरै बेइमानी भएकोले अबको परिवर्तन सिर्फ सत्ताको लागि नभई नयाँ पुस्ताको उज्जवल एवं सुनिश्चित भविष्यको लागि हुने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
प्रतिनिधि सभा निर्वाचन सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदबार समेत रहेको यादवले चुनावी अभियानका क्रममा देश र जनताको चाहना र आवश्यकता अनुसार संविधान संशोधन वा पुनर्लेखर गरेर नयाँ पुस्ताको भविष्य संविधानबाट सुरक्षित गरिनु पर्नेमा जोड दिएका हुन।
‘आजको नेपाल पुरानै संबैधानिक संरचनामा अड्किएको छ, जसले न त स्थायित्व दिएको छ, न त न्याय । राजनीतिक अस्थिरता, कमजोर संघीयता र पहिचानको अभावले युवा पुस्ताको भविष्य अन्योलमा छ’, यादवले भने । जसपा नेपालले सार्वजनिक गरेको प्रतिबद्धता पत्रलाई उल्लेख गर्दै यादवले ‘शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीलाई परिवर्तनका साथै राष्ट्रिय समास्याहरूको समाधान गर्न संविधान संशोधन वा पुनर्लेखन गरेर देशलाई निकास दिन पर्नेमा जोड दिएका छन ।
राष्ट्रिय जातीय पहिचान झल्कने गरी राज्य पुनर्सरचना उच्चस्तरीय आयोग २०६८ को प्रतिवेदनअनुसार जातीय पहिचानसहित (१०+१) प्रदेश संरचना लागू गराउन जसपा नेपाल अडिग रहेको समेत यादवले बताए ।
संघीयता र नयाँ पुस्ताको परिवर्तनको माग विरुद्ध कुनै सम्झौता नहुने भन्दै अध्यक्ष यादवले भने, ‘संघीयतालाई कागजको होइन, व्यवहारको बनाउने हाम्रो दृढ अडान हो । अबको यो परिवर्तन सत्ताको लागि होइन, नयाँ पुस्ताको सुन्दर भविष्यका लागि हो, त्यसमा जसपा नेपाल दृढ छ ।’
प्रतिक्रिया