झापा : नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीलाई सहिद दिवस तथा बन्दी विकास पुस्तकालयको २९ औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको छ ।
झापा कारागार परिसरमा आयोजित कार्यक्रममा बन्दी विकास पुस्तकालयलाई पु¥याएको योगदानको उच्च कदर गर्दै पत्रकार भण्डारीलाई सम्मान गरिएको हो ।
बन्दी विकास पुस्तकालयको २९ औँ वार्षिकोत्सव तथा २८ औँ साधारणसभाका अवसरमा पुस्तकालयप्रति भण्डारीले पु¥याएको सहयोग, सद्भाव र योगदानको उच्च कदर गर्दै सम्मान गरिएको पुस्तकालयका सचिव रमेश पोखरेलले जानकारी दिए ।
कार्यक्रम बन्दी विकास पुस्तकालयका अध्यक्ष मनोज लावतीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले भण्डारीलाई सम्मान पत्रले सम्मान गरे ।
कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य एलपी सावा लिम्बू,प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, जिल्ला कारागार झापाका प्रमुख रेवन्त भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सम्मानित भण्डारी कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक समेत रहेका छन भने पूर्वी नेपालमा सामुदायिक रेडियो स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विद्यार्थी आन्दोलनमा सक्रिय सहभागिता जनाएको आरोपमा तत्कालीन सरकारले भण्डारीलाई पटक–पटक पक्राउ गरी जेल जीवन बिताउन बाध्य बनाएको थियो । उनी २०३० सालमा पहिलो पटक झापा कारागार पुगेका थिए । त्यसयता देशका विभिन्न ११ वटा कारागारमा नौ वर्ष आठ महिना कैद र थप सात महिना हिरासत जीवन बिताएको अनुभव उनीसँग छ ।
‘राजकाज मुद्दा अपराध ऐन’ अन्तर्गत मुद्दा चलाइएपछि भण्डारीले काठमाडौंका विभिन्न कारागारसहित झापा र लुम्बिनीसम्मका कारागारमा कष्टपूर्ण जीवन बिताएका थिए । जेल जीवनकै दौरान उनले २०३१ सालमा झापा जिल्ला कारागारबाट एसएलसी उत्तीर्ण गरेका थिए भने इतिहास र राजनीति शास्त्र विषयमा एमए उत्तीर्ण गरेका थिए ।
प्रतिक्रिया