झापा : झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ गतेदेखि सञ्चालन हुने भएको छ । विर्तामोडमा रहेको डोमालाल राजवंशी रंगशालामा आगामी फागुन ४ गते सम्म प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।
सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’का रूपमा आयोजना गरिने झापा गोल्डकपका अध्यक्ष केदार गिरीले पत्रकार सम्मेलनमा जानकारी गराए । पत्रकार सम्मेलनमा प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
पत्रकार सम्मेलनमा उत्कृष्ट खेलाडीलाई मोटरसाइकल यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् समेत जानकारी गराइयो ।
प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २१ हजार रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । विधागत पुरस्कारको प्रायोजन अमेरिका निवासी रोशनलाल श्रेष्ठसहितको टोलीले उपलव्ध गराउने पनि जनाइयो ।
प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, महिन्द्र क्लब, लालीगुराँस क्लब पोखरासहित घरेलु तथा विदेशी गरी १० वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा भुटानको रोयल थिम्पु कलेज, भारतको सिग्लिज स्पोर्टिङ क्लब र मलेसियाको एन पेनाङ एफसीले पनि प्रतिस्पर्धा पत्रकारहरुलाई जानकारी गराइयो ।
२०७२ सालदेखि झापालाई फुटबल हबका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन हुँदै आएको छ । यस वर्ष झापाका एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने आयोजकले जनाएको छ । त्यस्तै रंगशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई पनि नगद २५ हजार रुपैयाँले सम्मान गरिने भएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया