दोस्रो वार्मअप खेल पनि जितेको नेपाल विश्वकपमा कहाँसम्म पुग्ला ?

विहीबार, २२ माघ २०८२
PHOTO : CAN

आईसीसी टी–२० विश्वकपअघिको दोस्रो वार्मअप खेलमा ओपनर आशिफ शेखको उत्कृष्ट अर्धशतकको मदतमा नेपालले क्यानडामाथि सानदार जित हात पारेको छ । चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको हो ।

क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमै ४ विकेटको क्षतिमा पूरा ग¥यो । जितमा ओपनर आशिफ शेखले आक्रामक ब्याटिङ गर्दै मात्र २९ बलमा ५८ रन बनाए । उनको इनिङमा ६ चौका र ३ छक्का सामेल थिए । अर्धशतक पूरा गरेपछि अन्य ब्याटरलाई मौका दिन आशिफ ‘रिटायर्ड आउट’ हुँदै मैदान बाहिरिएका थिए ।

मध्यक्रममा सन्दीप जोराले ३० बलमा ४४ रन जोड्दै इनिङलाई मजबुत बनाए । गुल्सन कुमार झाले ३१ रनमा अविजित रहँदै टोलीलाई जितको नजिक पु¥याए भने कप्तान दिपेन्द्र सिंह ऐरी ९ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । क्यानडाका ओपनर नवनीत धालीवालले ३६ बलमा ४१ रन बनाउँदै इनिङ सम्हाले । अन्त्यतिर श्रेयस मोभाले आक्रामक ब्याटिङ गर्दै १९ बलमा अविजित ३८ रन जोडेपछि क्यानडा सम्मानजनक स्कोरमा पुगेको हो । कँवरपाल ताथगुरले २५ र जसकरण बुट्टरले २१ रनको योगदान दिए ।

नेपालका लागि बलिङतर्फ कुशल भुर्तेल र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै समान २–२ विकेट लिए । भुर्तेलले कँवरपाल ताथगुर र निकोलस किर्टनलाई आउट गरे भने लामिछानेले नवनीत धालीवाल र हर्ष थाकरको विकेट लिए । सोमपाल कामी र नयन यादवले पनि १–१ विकेट हात पारे ।

यसअघि मंगलबार नेपालले पहिलो वार्मअप खेलमा सोही मैदानमा युएईलाई सात विकेटले पराजित गरेको थियो । नियमित कप्तान रोहित पौडेल क्याप्टेन्स मिटमा सहभागी हुन मुम्बई गएकाले आजको खेलमा दिपेन्द्र सिंह ऐरीले कप्तानी सम्हालेका थिए ।

भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकप आगामी शनिबारदेखि सुरु हुँदैछ । नेपाली टोलीले आफ्नो पहिलो खेलमै हेभीवेट टोली इंग्ल्यान्डसँग खेल्दैछ ।

इंग्ल्यान्डपछि नेपालले इटली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग खेल्नेछ । सबै खेलहरू मुम्बईस्थित वाख्डे स्टेडियममै हुँदैछन् । यसअघिका दुई विश्वकपमा समूह चरण पार गर्न नसकेको नेपाली टोली यसपटक भने सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । त्यसका लागि नेपालले समूह चरणका चारमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ ।

कप्तान रोहित पौडेलले नै सुपर ८ मा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार