नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक उम्मेदवारको नाम सांसदका लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ । मंसिर ४ माम सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा कांग्रेसले ३२ सिट पाएको थियो ।
कांग्रेसबाट ११० जना समानुपातिक उम्मेदवारमध्ये २९ जना महिला र ३ जना पुरुष सांसदका लागि सिफारिस भएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पुरुषतर्फका तीन जनामा दलिततर्फ सहमहामन्त्री जीवन परियार, मधेसीतर्फ नेता विमलेन्द्र निधि र खसआर्यतर्फ पहिलो नम्बरमा रहेका प्रवक्ता प्रकाशशरण महतलाई रोजेका छन् । आदिवासी जनजाति पुरुषतर्फ नेता गोपालमान श्रेष्ठ, थारु पुरुषतर्फ नेता योगेन्द्र चौधरी र मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमै रहेका सहमहामन्त्री फरमुल्लाह मन्सुर देउवाको रोजाइमा पर्न सकेनन् ।
डा।महत देउवाको निर्विकल्प रोजाइ बन्दा पूर्व उपसभापति श्रेष्ठ पनि छुट्न पुगे । पार्टीका सहमहामन्त्री परियार समानुपातिक सांसद बन्दा सहमहामन्त्री मन्सुर छुटे । योसँगै कांग्रेसबाट संघीय संसदमा मुस्लिम पुरुषको प्रतिनिधित्व शून्य भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणका विश्वासपात्र चौधरी पनि थारुतर्फ पहिलो नम्बरमा रहँदा पनि हेभिवेट नेताको मिचाइमा परे । पूर्व उपसभापति निधिलाई भने शनिबार दोहोरो खुसी मिल्यो । देउवा पक्षका सहमहान्त्री मन्सुर र पूर्व उपसभापति श्रेष्ठलाई पन्छाएर निधिले पाँच वर्षका लागि संघीय संसदको यात्रा तय गरे । यता मधेसी महिलातर्फ नेता निधिकी भान्जी निनुकुमारी कर्ण पनि समानुपातिक सांसद बन्ने पक्का भएको छ ।
सभापति देउवा पत्नी आरजु राणा देउवा, गहृमन्त्री बालकृष्ण खाण पत्नी मञ्जु खाण, कांग्रेस नेता स्वर्गीय नविन्द्रराज जोशीकी पत्नी सपना राजभण्डारी पनि सांसद बन्ने भएकी छन् । कांग्रेस केन्द्रीय सदस्यद्वय आरजु र मन्जु खसआर्य महिलातर्फ समानुपातिक सांसदका लागि सिफारिस भएकी छन् । यस्तै आदिवासी जनजातितर्फबाट राजभण्डारी पनि सांसद बन्ने पक्का भएको छ ।
कांग्रेसको १४ औं महाधिवेशनमा सार्वधिक मत पाएकी मुक्ताकुमारी यादव पनि समानुपातिक सांसद बन्ने पक्का भएको छ । कांग्रेसका संघर्षशील महिलाहरू माया राई, सरिता प्रसाईं, प्रतिमा गौतम, नागिना यादव समानुपातिक सांसद बनेका छन् ।
प्रतिक्रिया