इलाम ।सहकारीको ब्यवस्थापक रहँदा ४२ लाख ठगेको आरोपमा इलाम नगरपालिका ६ का बेदनिधि पोख्रेललाई पक्राउ गरिएको छ । सानिमाई चिया उत्पादन सहकारी संस्थाको पूर्वसचिव तथा व्यवस्थापक रहँदा ४२ लाख ६३ हजार पाँच सय ३६ रुपयाँ हिनामिना गरेको भन्दै पोख्रेललाई पक्राउ गरिएको हो ।
सानिमाई सहकारी संस्थाका अध्यक्षले जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएपछि प्रहरीले पोख्रेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रदिप सुवेदीले जानकारी दिए । उनका अनुसार पोख्रेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
सहकारी संस्थाले चिया उद्योग समेत सञ्चालन गरेको छ । सोही उद्योगको प्रशोधित चिया बिक्रिका क्रममा रकम हिनामिना गरेको बताइएको छ । साथै लामो समयसम्म सहकारी मार्फत उद्योगलाई हरियो चिया बेचेका किसानहरुको रकम समेत पाउन समस्या परेको थियो ।
गत वर्षदेखि नै सो सहकारीमा रकम हिनामिना भएको भन्दै विरोध भएको थियो । त्यसयता सहकारीले सञ्चालन गर्दै आएको चिया उद्योग नयाँ ब्यवस्थापनमा चल्दै आएको बताइएको छ ।
प्रतिक्रिया