रित्तिँदै किसानका गोठ, सरकारी सहयोग शून्य

विहीबार, ०४ साउन २०८०
टीका खतिवडा इलाम । इलाम देउमाई नगरपालिका दुईका टंक खनालको गाईको गोठ रित्तो छ । गाईवस्तुमा लाग्ने रोग ‘लम्पी स्किन’ का कारण खनालको गोठमा भएका पाँच वटा गाइबाछा मरेसँगै गोठ रित्तो भएको हो । दुईवटा माउ गाईसहित कोरला र बाछा गरी उनका सबै अर्थात पाँचवटा गाई मरेका हुन् । दैनिक घरखर्च गर्न र जिविकोपार्जनमा तीनै गाईको आम्दानीबाट गर्ने सो परिवार गोठ नै रित्तिएपछि समस्यामा छ । सोही गाउँका खुरप्रसाद पौडेलको पनि लैनो गाई मर्यो । गोपीकृष्ण पौडेल, घनश्याम खतिवडा लगायतका किसानले पालेको गाई तथा बाछाबाछी मरे । उनीहरु त प्रतिनिधि किसान मात्र हुन् । सोही गाउँ र जिल्लाका किसानको अवस्था उस्तै नाजुक छ । दूध बेचेर आम्दानी गर्ने परिवारलाई यो रोगको संक्रमणले समस्यामा पारेको छ । दूधकै आम्दानीले चाडबार्ड खर्च धान्ने सपना बोकेर बसेका किसान लैनो गाई मर्दा पनि कतैबाट सहयोग प्राप्त नभएको भन्दै दुखेसो गर्ने गरेका छन् । रोपाइँ गर्ने समयमा गोरु बिरामी पर्दा उस्तै हैरानी किसानले ब्यहोर्नु परेको छ । जोत्न र हिल्याउन गोरुको प्रयोग हुने क्षेत्रका किसान मर्कामा छन् । किसान गोपीकृष्ण पौडेलले सरकारी क्षेत्रबाट कुनै सहयोग नपाएको दुखेसो गरे । समस्यै समस्यामा गुजारा चलाइरहेका आफूहरुको दुःखमा साथ दिने सरकार नपाएको उनको भनाई छ । गोठ नै रित्तो बनेर स्थानीय सरकार गुहार्न पुगेका टंक खनाल समेत रित्तो हात फर्कनु परेको दुखेसो गर्छन् । जिल्लाका केही स्थानीय तहले किसानलाई सहयोग गरेको भन्ने सुनेको भएपनि आफूले केही नपाएको उनको भनाई छ । इलाम नगरपालिकाका जनप्रतिनिधिले आफूले पाउने पारिश्रमिक बापतको रकम खोप खरिदमा लगाएका छन् । जिल्लाको फाकफोकथुक गाउँपालिका, रोङ गाउँपालिका, सन्दकपुर गाउँपालिकाले किसानले पालेका गाईवस्तुलाई खोप लगाउन बजेट नै बिनियोजन गरेर खोप लगाउने काम भयो । सूर्योदय नगरपालिकाले समेत पशु प्राविधिकलाई खटाएको जनाएको छ । यो रोगको संक्रमण बढ्दो अवस्थामा छ । दैनिक गाई बिरामी पर्ने र मर्ने क्रम उत्तिकै बृद्धि भइरहेको छ । पशुपालन नै गरेर जिविकोपार्जन गर्ने किसानहरु यतिबेला समस्यामा छन् । गाईवस्तुको शरीरमा मसिना फोका आउने, फोका बढेर ठुलो घाउ हुने, ज्वरो आउने, खुट्टा सुनिने, घाँस नखाने जस्ता लक्ष्यणहरु देखा पर्ने गरेको छ । बाहिरी छालामा घाउ देखा पर्ने, घाउ बढेर शरिरमा ठुलो दुलो हुने हुँदै पशु मर्ने गरेका छन् । आर्थिक वर्षको अन्त्यमा यो रोग देखा परेका कारण धेरै रकम यसतर्फ खर्च गर्न नसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका सूचना अधिकारी तथा वरिष्ठ पशुधन विकास अधिकारी डा प्रदिपचन्द्र भट्टराईले बताए । उनले पछिल्लो समय रकमान्तर गरेर १० करोड रकम यसको भ्याक्सिन खरिदमा लगाएको बताए । नेपालमा यसको औषधि तथा भ्याक्सिन नभएको विदेशबाट खरिद गर्न औषधि सप्लायर्सलाई सिफारिस दिइएको उनको भनाई छ । उनले एक सय ६१ स्थानिय तहमा एक–एकजना पशु प्राविधिक खटाएर समेत किसानलाई सहुलियत प्रदान गरेको बताए । सबैभन्दा पहिला स्थानिय र प्रदेश सरकारलाई यसको जानकारी हुने र सहयोगमा लाग्नु पर्ने उनको भनाई छ । झिंगा, लामखुट्टे, किर्ना लगायतका किराहरुबाट पशुहरुलाई जोगाउन सके यो रोगको संक्रमणबाट बचाउन सकिने पशु प्राविधिकहरुको भनाई छ । यथार्थ तथ्यांक कसैसँग छैन जिल्लाका सबै क्षेत्रमा यो रोगको संक्रमण फैलिएको छ । केही पालिकाले पशु मरेको तथ्यांक समेत राख्ने गरेको छ । तर केही स्थानिय तहले बिरामी र मरेको कुनै तथ्यांक समेत नराख्ने गरेको पाइएको छ । गाउँमा के कति गाई मरे तथ्यांक लिन सरकारी निकायबाट कुनै ब्यक्ति खटाइएको छैन । मनलाग्दो तथ्यांक सार्वजनिक गर्ने गरेको पाइएको छ । हाल ७७ वटै जिल्लामा यो रोगको संक्रमण फैलिएको तथ्यांक सार्वजनिक भएको छ । यसबाट ९९ हजार एक सय १७ पशु संक्रमित भएको बताइएको छ । त्यस्तै २८ हजार ४ सय २४ पशु मरेको विवरण कृषि तथा पशुपक्षी मन्त्रालयले सार्वजनिक गरेको छ । भैँसीलाई पनि यो रोग लाग्ने मन्त्रालयको तथ्यांकमा बताइएको छ । तर स्थानीय किसान भैँसीलाई यो रोग देखा नपरेको बताउँछन् । सँगै बाँधेको गाईलाई यो रोगको संक्रमण हुँदा पनि छेउमा रहेको भैँसीलाई यो रोगको संक्रमण देखा नपरेको किसानको भनाई छ । मन्त्रालयका सूचना अधिकारी तथा वरिष्ठ पशुधन विकास अधिकारी डा प्रदिपचन्द्र भट्टराईले स्थानीय तहबाट आएको तथ्यांकलाई नै आधार मानेर मन्त्रालयले सार्वजनिक गरेको बताए । तर उनले पनि स्थानीय तहले बाध्य भएर तथ्यांक दिनैपर्ने ब्यवस्था नभएको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार