पूजा आराधना
आमा मेरी अमर जननी प्रेम प्याला पिलायौ
न्यानो लाली छरिकन अहो प्रेम नौलो जुटायौ
आमा मेरी हिम गगनकी दिव्य शोभा तिमी नै
आमा मेरी पृथक उपमा सौम्य आभा तिमी नै ।।१।।
हुर्क्यो फुर्क्यो तनमनमहा फेरि यौटा विचार
तिम्रो न्यानो प्रिय छ ममता काख उस्तै उदार
वाणी तिम्रा सुमधुर अहो नित्य बिश्वास पाए
आँखा मेरा टुलुटुलु हुँदै हर्ष छर्दै रसाए ।।२।।
आमा मेरी हृदयतलमा प्रेम यस्तो जगायौ
तिम्रो त्यो काख बिच ममता स्नेह गर्दै बढायौ
झर्को फर्को नगरिकन नै दर्द मेरा उठायौ
हाँसो देख्दा सकस भुलिने सौम्य माया दिलायौ ।।३।।
तिम्रा भाका टपटप टिपी गीत गाऊँ म ऐले
बाजागाजा रमझमसँगै गुन्गुनाऊँ म जैले
मेरा स्वप्न तलतल खसे फेरि बेग्लै धरामा
मेरी आमा परपर हुँदा हुन्छु एक्लै धरामा ।।४।।
मैले खेल्ने रनवनमहाँ सुन्छु झन्कार तिम्रा
मैले सुन्ने मधुर धुनमा भेट्छु वाणी म तिम्रा
अङ्गालोमा हरबखत बेरौँ छ तृष्णा अनौठो
चोखो माया नयन बीचमा फुल्छ गाढा अनौठो ।।५।।
***
प्रतिक्रिया