मदन पुरस्कार ओझाको ‘ऐँठन’ र जगदम्बा-श्री पुरस्कार मुखियालाई

आइतबार, १४ असोज २०८०
काठमाडौं । मदन पुरस्कार- २०७९ विवेक ओझाको ऐँठनलाई प्रदान गरिने भएको छ। आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले २०७९ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट ओझाद्वारा लिखित ऐँठनलाई पुरस्कार प्रदान गर्ने भएको हो। सोही बैठकले २०७९ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट ओझाद्वारा लिखित ऐँठन पुस्तकलाई विगतमा नेपाल राष्ट्र एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्‍न र अहिले पनि त्यस दुःस्वप्‍नले हामीलाई ऐँठनका पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेको हुँदा मदन पुरस्कार २०७९ अर्पण गर्ने निर्णय गरेकाे हाे। यस प्रयोजनका निम्ति गुठीमा प्राप्त ३१३ पुस्तकहरूमध्येबाट पाँच पुस्तकहरू क्रमशः इजोरिया (सुबिन भट्टराई), ऐँठन (विवेक ओझा), चक्रव्यूहमा नेपालको जलस्रोत (द्वारिकानाथ ढुङ्गेल), थाङ्‍ग्रा (प्रगति राई) र माटाको घर (सञ्‍जय विष्ट) ‘मदन पुरस्कार श्रेष्ठ सूची २०७९’ का निम्ति छनौट भएका थिए। यस्तै,गुठीले ‘अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहारचित्रमार्फत साहित्यानुरागीहरू माझ पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएकाेमा ‘ टेकवीर मुखियालाई वर्ष २०७८ सालको जगदम्बा-श्री अर्पण गर्ने निर्णय गर्‍यो। २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनकाे सम्झनास्वरूप जगदम्बा-श्री पुरस्कारको स्थापना गरिएको हो। यो सम्मान पहिलोपटक श्री नारायण गोपाललाई अर्पण गरिएको थियो। २०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट वि.स. २०१३ मा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्‍जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा  बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई मदन पुरस्कार अर्पण गरिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार