इलाम, असोज : यतिबेला पहाडी जिल्लाका किसानलाई अलैँची टिप्ने चटारो छ । पहाडी क्षेत्रमा उत्पादन हुने प्रमुख नगदेबाली खेतबारी तथा कान्ला भित्ता र खोल्सीहरुमा लगाइएको अलैँची पाक्न थालेसँगै किसानलाई पाकेको अलैँची टिप्ने चटारो सुरु भएको हो ।
पहाडको पनि तल्लो क्षेत्रमा भदौ अन्तिमदेखी नै अलैँची टिप्न सुरु गरिन्छ । माथिल्लो क्षेत्रमा असोज र कात्तिक १५ सम्ममा अलैँची टिप्ने गरिन्छ ।
किसानहरु अलैँची टिप्न, टिपिसकेको अलैँची छोडाउन र भट्टीमा सुकाउन व्यस्त छन् ।
गाउँमा अलैँची बगान भएका तर जिल्ला सदरमुकामतिर बसेका व्याक्तिहरु समेत अलैँची टिप्न गाउँ फर्किने गरेका छन् ।
पाकेको अलैँची टिप्न केही दिन मात्रै ढिलो गरे चरा तथा मुसाले खाने हुँदा किसानलाई अलैँची भित्र्याउन चटारो परेको हो ।
सबैतिर एकै पटक अलैँची टिप्ने र थन्क्याउने काम भइरहेकाले काम गर्ने जनशक्तिको अभाव हुने गरेको किसानहरुको भनाई छ ।
अहिले अलैँची प्रतिमन अर्थात् (४० किलो) को ५५ देखि ६० हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायीहरुको भनार्य छ । यसपालि भाउ बढे पनि अलैँचीको उत्पादन ५० प्रतिशतले घट्ने सम्भावना रहेको किसानहरु बताउँछन् ।
पूर्वी पहाडी जिल्ला इलाम सहित, पाँचथर, ताप्लेजुङ, तेह्थुम लगायतका जिल्लाका किसानहरु यतिबेला फलेको अलैँची थन्क्याउन लागि परेका छन् ।
जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात् एक हजार २०० मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ पहिलो साता देखि नै टिप्ने गरिन्छ ।
यस्तै, एक हजार २०० देखि एक हजार ८०० सम्मको उचाइमा गरिएको खेतीमा असोज पहिलो हप्तादेखि अलैँची टिप्न शुरु गरिन्छ । एक हजार ८०० देखि माथि लेक क्षेत्रमा कात्तिकदेखि कात्तिकभरी नै अलैँची टिप्ने गरिएको छ ।
यसवर्ष अलैँचीको मूल्य पनि राम्रो आएकाले अलैँची किसान उत्साहित भएका छन् । कालो सुनको नामले चिनिने नगदेबाली अलैँची पूर्वी पहाडी जिल्लाहरुमा धेरै उत्पादन हुने गरेको छ ।
यसरी उत्पादन भएको अलैँचीको मूल्य विगत ६ वर्षयताकै उच्च भएको छ ।
प्रतिक्रिया