कुन पक्रिया पुरा गरेर पुर्याउँछन् दलालले रसिया ?

विहीबार, २१ मंसिर २०८०
बिराटनगर : नेपालीहरु रोजगारीका लागि बिभिन्न मुलुकमा पुग्ने गरेका छन् । राम्रो आम्दानी र रोजगारी पाउन ज्यानै जोखिममा राखेर काम गर्छन् भन्ने उदाहरण धैरै छन् । पछिल्लो समय थपियो रुसी सेनामा भर्ती पनि । विभिन्न प्रलोभनमा अबैध बाटो हुँदै रुसी सेना लागेर युक्रेनसँगको युद्धमा होमिन पनि पछि परेनन् । यसैक्रममा ६ नेपालीले ज्यान गुमाइसके। एक जना युक्रेनले बन्धक बनाएको पुष्टि सरकारले नै गरेको छ । यी तथ्यांक आधिकारिक रूपमा सरकारले सार्वजनिक गरेका हुन् । पुष्टि नभएका अन्य तथ्यांकमा मृतक र बन्धकको संख्या बढी आइरहेका छन् । मृतक र बन्धकको संख्या बढ्न थालेपछि सरकारी निकायहरूले घुमाउरो बाटोबाट नेपालीहरूलाई रुस पुर्‍याउने गिरोहमाथि निगरानी बढाइएको बताएका छन् । यसै क्रममा पूर्वसुरक्षाकर्मी, मेनपावर, शैक्षिक परामर्श दिने ‘कन्सल्टेन्सी’ सञ्चालकसहित १२ जना पक्राउन नै परे । अनि खुल्यो– ‘कसरी रुसी सेनामा पुगिरहेका छन् नेपाली युवा रु’ गिरोहले भारत पुर्‍याएका अझै केही नेपालीहरू दिल्लीका होटलहरूमा रहेको आशंका प्रहरीको छ । नेपाल सरकारले भारतीय प्रहरीको पनि सहयोग लिएर अनुसन्धान गरिरहेको बताएको छ ।   प्रहरी परिसर काठमाडौंका प्रमुख भुपेन्द्र खत्रीका अनुसार विभिन्न माध्यमबाट प्रकाशित विज्ञापन हेरेर सम्पर्कमा आएका युवाहरूको कागजात एजेन्टले संकलन गरेर ५र१० जनाको समूह बनाएर अनलाइन भिसा प्रक्रिया सुरु हुन्थ्यो । रसिया जान लागेका व्यक्तिहरूको पासपोर्ट जम्मा गरेर एजेन्टहरूले नेपालस्थित रसियन दूतावासमा अनलाइन फर्म भर्ने गरेका थिए । यसका लागि प्रज्वल नामक व्यक्तिको सहभागिता रहेको अनुसन्धानमा खुलेको छ ।   दूतावासमा कागजात मिलाउनका लागि कन्सटेन्सी सञ्चालक सुजाता दाहालले सहयोग गर्ने प्रहरीको भनाइ छ । दूतावासको नियमअनुसार अनलाइन भिसा अप्लाई गर्दा पासपोर्टको अगाडि पछाडिको प्रतिलिपि र निमन्त्रणा पत्र राख्नुपर्ने हुन्छ । यसका लागि अनुप दनुवारले निमन्त्रण कार्ड बनाउने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूले रुसी आर्मीमा भर्ना हुने भन्दै अन्तर्वार्तासमेत लिने गरेका थिए । श्रम कार्यालयबाट सामूहिक रूपमा स्वीकृति लिएर जानुपर्नेमा एजेन्टहरूले भिजिट भिसा, नियन्त्रणा पत्रलगायतको आधारमा पठाउने गरेका थिए ।   प्रहरीका अनुसार रुस पुगेका विभिन्न व्यक्तिलाई लिन रसियन नागरिक नै आउनुपर्ने हुँदा यहाँका एजेन्टले त्यहाँका नागरिकसँगको सहकार्यमै यस्तो धन्धा चलाउँदै आएका हुन् । रसियन इमिग्रेसनबाट पास भएर रुस प्रवेश गर्नका लागि रसियन नागरिक लिन आउनुपर्ने त्यहाँको कानुनी बाध्यता रहेको प्रहरीले बताएको छ । कागजात कन्फनम भएर भिसा आइसकेपछि गैरकानुनी बाटो हुँदै नेपाली नागरिक रसिया पुग्ने गर्थे ।   रसियन एजेन्टको सहकार्यमा रुसी सेनामा भर्ना हुने गर्थे । एसएसपी खत्री नागरिकको सहयोग बिना नेपाली युवा त्यहाँ जान असम्भव प्रायः रहेको बताउँछन् । यसका लागि हरिबहादुर विकले सहजीकरण गर्ने गरेको अनुसन्धानका क्रममा भेटिएको छ ।   फर्किएर आएका व्यक्ति प्रहरीको सम्पर्कमा छन् । तर, उनीहरूले जाहेरी दिन नमान्दा मुद्दा चलाउनका लागि प्रहरीलाई केही असहज भएको छ । पीडितहरूलाई प्रहरीको सम्पर्कमा आउनका लागि प्रहरी परिसरको आग्रह छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले युद्धग्रस्त देशमा नजानका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार