इलाम : चाडपर्वको अवसरमा इलाम बजारमा हाउजी अर्थात् बिङ्गो खेलाइयो । जुवाजन्य खेलमा पर्ने हाउजीको रकम सार्वजनिक भएपछि प्रश्न पछि प्रश्न जन्मिरहेका छन् । खेल खेलाउन अनुमति दिने प्रशासन र अनि खेल खेलाउने नगरपालिकाको नगर खेलकुद प्रतिष्ठान प्रति ।
प्रहरी तथा सुरक्षा निकायकै अगाडी जुवा त खेलाइयो नै । सो बाट बचेको रकमले सामाजिक कार्यमा खर्च गरिने भनियो पनि । तर रकम पारदर्शी नभएको जिल्लावासीको गुनासो बढेको छ ।
यो खेल खेलाउन जिल्ला सदरमुकाममा केही व्यक्तिहरू आफूले ठेक्का पाए झैँ गरेर नै लागे पनि ।
विगतका वर्षहरुमा केही संस्थाहरू मिलेर खेलाइने गरिन्थ्यो । यस वर्ष पनि इलाम नगरपालिका नगर खेलकुद विकास समितिले नेतृत्व गरेर यो खेल सञ्चालन भयो । अन्य केही संस्थाको नाम उल्लेख गरिएको समेत छ ।
निकै तामझाम सहित इलामको ऐतिहासिक खेल भनेर इलाम चोक बजारमा जुवाजन्य बिङ्गो खेलाइयो । रातको समयमा निकै मान्छे इलाम चोक बजारमा भेला गरेर खेलाइने खेललाई नियन्त्रण हैन उल्टै प्रशासनले सुरक्षा प्रदान गर्यो ।
गएको असोज २८ गते देखि मङ्सिर ८ गतेसम्म खेल खेलाइएको थियो । सो खेलबाट ४८ लाख ६७ हजार तीन सय ५५ रुपैयाँको कारोबार भएको बताइएको छ ।
आयोजकले पुरस्कारमा २८ लाख ५७ हजार दुई सय रुपैयाँ खर्च भएको जानकारी दिएको छ । पुरस्कारबाट २० लाख ५० हजार एक सय ५५ रुपैयाँ बाँकी रहेको उल्लेख छ । सोबाट समेत पाँच लाख १२ हजार दुई सय २९ रुपैयाँ खेल अवधिभरमा खर्च भएको हिसाब सार्वजनिक गरेको पत्रमा उल्लेख छ । बाँकी रहेको १४ लाख ७९ हजार नौ सय २६ रुपैयाँ बैङ्कमा जम्मा भएको उल्लेख छ ।
धेरै प्रश्न उब्जिए । सो मध्ये पनि रकम सार्वजनिक गर्दा लेखा परीक्षण नभएको गुनासो छ । आफैँमा अवैध रहेको कारोबारको कसरी लेखा परीक्षण हुन्छ ?
आयोजकले जे खेलेर दिए सोही पत्याइदिन पर्ने आशय उनीहरूको भनाइबाट पुष्टि हुन्छ । मनोमानी ढङ्गले ल्याएको हिसाब चित्त बुझाउन नसकिने एक आयोजक मध्येकै जानकार बताउँछन् ।
करिब आधा करोड बराबरको खर्च गर्दा लेखा परीक्षण हुनु पर्ने हो । तर अवैध खेलबाट उठेको रकमको लेखा परीक्षण गर्ने निकाय कुन त ?
गएको वर्ष १० लाख माथि रकम त हाउस फुललाई नै दिइएका थियो । पुरस्कार धेरैलाई परे पनि पुरस्कारमा निकै मोटो धनराशि गएको वर्ष खर्च भएको थियो । यस वर्ष आयोजकले करिब आधा रकम नै घटाएर छ लाख मात्र पुरस्कार हाउस फुलका नाममा सार्वजनिक गर्यो । केही व्यक्तिले गोजीमा रकम हालेको हुनसक्ने स्वयम् खेल खेलाउनेहरू नै बताउने गरे पनि आफूले नखाएको र उनीहरूले रकम लगेको पुष्टि गर्न सक्ने कुनै आधार नभएको बताउँछन् ।
दैनिक कति टिकट विक्री भयो सो बाट कति रकम सङ्कलन भयो, कति खर्च र कति बचत भयो भन्नेबारे निकै अन्योल बनाएको छ । बचेको रकम सार्वजनिक कार्यमा नै खर्च हुन्छ होला तर खेल खेलाइँदा नै रकम गोलमाल भएको आरोप जिल्लावासीको छ ।
खेल आयोजना गर्ने संस्था नगर खेलकुद प्रतिष्ठान अध्यक्ष महेश श्रेष्ठले खेलबारेमा प्राविधिक पक्षबारे आफु समेत अनभिज्ञ रहेको बताउँछन् ।
प्रतिक्रिया